हिमाल आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण

काठमाडौँ, २८ कात्तिक – नेपाल पर्यटन बोर्डले हिमाल आरोही तथा पर्वतीय पर्यटकको सुरक्षालाई प्राथमिकता दिँदै हिमालय उद्धार संघ नेपाल (Himalayan Rescue Association–HRA) लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ। सगरमाथा र अन्नपूर्ण क्षेत्रमा यात्रा गर्ने आरोही तथा पदयात्रीलाई आवश्यक पर्ने उद्धार सहयोगलाई थप प्रभावकारी बनाउन बिहीबार उक्त सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका हिमाली क्षेत्रहरू विश्वकै आकर्षण हुने भएकाले पर्यटकको सुरक्षा सुनिश्चित गर्नु बोर्डको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले भने, “हिमालय नै नेपालको पहिचान हो। यहाँ आउने आरोही र पर्यटक सुरक्षित हुनु नै दिगो पर्यटनको आधार हो। उद्धार संघसँगको सहकार्यले हिमाली पर्यटन क्षेत्र थप सुरक्षित र दिगो बन्छ।”

त्यसैगरी, बोर्ड सदस्य नरेन्द्रदेव भट्टले उद्धार कार्य केवल आपतकालीन प्रतिक्रिया मात्र नभई नेपालको पर्यटन छवि मजबुत बनाउने महत्वपूर्ण तत्व भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार आगामी दिनमा उद्धार तथा जोखिम व्यवस्थापनलाई अझ व्यवस्थित र आधुनिक बनाइनेछ।

सामग्री ग्रहण गर्दै हिमालय उद्धार संघका अध्यक्ष डम्बर पराजुलीले सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भने, “सगरमाथा र अन्नपूर्णजस्ता चुनौतीपूर्ण क्षेत्रमा उद्धार सामग्री अत्यन्तै महत्वपूर्ण हुन्छ। बोर्डको यो समर्थनले हाम्रो उद्धार कार्य झनै छरितो र प्रभावकारी बन्नेछ।”

कार्यक्रममा बोर्डले संघलाई २० थान क्याराबिनर, ४ मेकानिकल एसेन्डर, ५ डिसेन्डर, ४ पुली, ५ स्लिङ, ५ आइसस्क्रु तथा पिकेट, ४ बिले डिभाइस, ४ एङ्कर र ५ स्लीपिङब्याग हस्तान्तरण गरेको थियो। नेपाल पर्यटन बोर्डले आगामी दिनमा निजी क्षेत्र र स्थानीय समुदायसँगको सहकार्य विस्तार गर्दै हिमाली क्षेत्रका उद्धार तथा सुरक्षा पूर्वाधारलाई अझ सुदृढ बनाउँदै लगिने जनाएको छ।

Facebook Comments Box