अनुसन्धानका कागजात उपलब्ध गराउन प्रहरीको आग्रह

काठमाडौँ, २८ कात्तिक – जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। भदौ २३ र २४ गतेका आन्दोलनका क्रममा काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड हुँदा धेरै कागजात र अनुसन्धान फाइल जलेर नष्ट भएपछि यस्तो आग्रह गरिएको हो।

प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार आन्दोलनका कारण प्रहरीले सुरक्षित राखेका थुप्रै कागजात पूर्णरूपमा नष्ट भएकाले, निवेदक तथा पीडितसँग रहेका आधार कागजातहरू पुनः उपलब्ध गराइदिनुपर्ने स्थिति आएको हो।

यस्ता कागजात प्राप्त भए अनुसन्धानलाई यथाशीघ्र र व्यवस्थित रूपमा अघि बढाउन सहज हुने प्रहरीले जनाएको छ। प्रहरीले सम्बन्धित व्यक्तिहरूलाई आफू नजिकको प्रहरी वृत्त वा जिल्ला प्रहरी परिसर काठमाडौँमा गएर आवश्यक कागजात उपलब्ध गराउन अनुरोध गरेको छ।

Facebook Comments Box