कुमारीघरको छानो जीर्णाेद्धारमा एक करोड २५ लाख रुपैयाँ लागत

काठमाडौँ, २८ कात्तिक – काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानाे जीर्णाेद्धारका लागि रु १ करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरेको छ। आर्थिक वर्ष २०८२/८३ को दररेटका आधारमा झिङ्गटी, पर्खाल, काठसहित छानासँग सम्बन्धित संरचनाहरू मर्मत–सम्भार गर्दा यति खर्च लाग्ने महानगरले जनाएको हो।

बर्खायाममा कुमारीघरको छाना चुहिन थालेपछि यसको प्राविधिक अवस्था अध्ययन गर्न गठन गरिएको समितिको प्रतिवेदन कार्यान्वयनबारे आज उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकमा लागतसम्बन्धी विवरण प्रस्तुत गरिएको थियो। उपप्रमुख डङ्गोलले मौसम प्रतिकूल बन्न नपहिले नै काम सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउँदै जीर्णाेद्धार प्रक्रिया तुरुन्त अघि बढाउन हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई निर्देशन दिइन्।

गत साउन २० गते गठन गरिएको अध्ययन समितिको संयोजक पुरातत्व विभागका पुरातत्वविद् पुरुषोत्तम डङ्गोल रहेकामा सदस्यहरूमा इञ्जिनियर रोशन डङ्गोल, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका इञ्जिनियर भीमप्रसाद अधिकारी तथा काठमाडौँ महानगरको आर्किटेक्ट अमित बज्राचार्य रहनुभएको थियो। समितिको प्रतिवेदन अनुसार कुमारीवहालको तीनै तलामै पर्खाल चिरा परेको छ।

केही धाम र मेथहरू खुकुलो बन्दै गएका छन्। कतिपय दलिन कीराले खाई प्वाल पारिदिएका छन् भने धेरै काठका भागहरू मक्किएका छन्। दोस्रो तलामा सिसाले छोपेर राखिएको भित्तेचित्र संरक्षणको जोखिममा परेपछि तत्काल ध्यान दिनुपर्ने देखिन्छ। धाम बाहेकका धेरै काठका अवयवहरू अग्राखका होइन, कुकाठ प्रयोग भएकाले पनि शीघ्र जीर्णाेद्धार अपरिहार्य भएको प्रतिवेदनमा उल्लेख छ।

आर्किटेक्ट बज्राचार्यका अनुसार झिङ्गटी छाना धेरै ठाउँमा धसिएको छ। धुरी चाङ फुटेर खसेका छन्, आइरन बेल्टहरू खुस्किएका वा हराएका छन्। मुठल र झिङ्गटीहरू झर्न थालेका छन् भने टुँडालहरू समेत मक्किएका छन्। अधिकांश मुसी फेरबदल गर्नुपर्ने अवस्था देखिएको छ।

Facebook Comments Box