युट्युबबाट सिकेको काष्ठकलाले भक्तबहादुरको मनग्य आम्दानी
कञ्चनपुर, २८ कात्तिक – शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा करिब दुई दशकअघि फर्निचर बनाउने काममा संलग्न हुनुहुन्थ्यो । तर उक्त पेशाबाट परिवार पाल्नै मुस्किल भएपछि उहाँले नयाँ विकल्प खोज्न थाल्नुभयो।एकदिन साथीले काष्ठकलासम्बन्धी भिडियो मोबाइलमा पठाइदिएपछि उहाँको जीवनको मोड नै बदलियो।
“इन्टरनेटमा भिडियो हेरेपछि काठ–बाँसका सामग्री बनाउने इच्छा जाग्यो र त्यहीबाट नयाँ काम सुरु गरें,” महराले सम्झनुभयो। पहिले हाउस डेकोरेसनको काममा कहिले काम हुन्थ्यो, कहिले हुँदैनथ्यो, जसले घरखर्चमै समस्या ल्याइदिन्थ्यो। तर अहिले यो पेशाले राम्रो कमाइ उपलब्ध गराइरहेको छ।
दुई वर्षदेखि उहाँ विजयसाल र बाँस प्रयोग गरेर गिलास, जग, बोत्तल, अम्खोरा, कचौरा, फूलदानी, मसला राख्ने भाँडा, बेलना लगायतका सामग्री उत्पादन गर्दै आउनुभएको छ। यी वस्तु पाँच सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन्। युट्युबकै भरमा सिकेका यी सीपले अहिले महरालाई मासिक ४० हजार रुपैयाँभन्दा बढी आम्दानी दिलाइरहेको छ।
“पहिले महिनौँसम्म खाली बस्नुपर्थ्यो, अहिले त कमाइ राम्रो छ भन्ने सोचेको पनि थिइनँ,” उहाँले भन्नुभयो। ग्राहकहरू घरसम्म आएर सामग्री किन्न खोज्ने भएकाले बेचबिखनमा पनि समस्या नपरेको उहाँको अनुभव छ। “माग धेरै छ तर म एक्लै भएकाले सबै माग पूरा गर्न सकिरहेको छैन,” उहाँले बताउनुभयो। आवश्यक कच्चा पदार्थ स्थानीय सामुदायिक वनले सहयोगस्वरूप उपलब्ध गराइदिने गरेको पनि उहाँले जानकारी दिनुभयो।
सामाजिक सञ्जालको प्रभाव भइरहँदा यिनको सदुपयोग गर्न सके धेरैले फाइदा लिन सकिन्छ भन्ने जीवन्त उदाहरण बन्नुभएको छ—महरा। पारिवारिक आर्थिक समस्याका बीच ज्याला मजदुरी गर्दै आएका उहाँले युट्युबमार्फत नयाँ कौशल सिकेर मनग्य आम्दानी गर्न सकिने प्रमाण प्रस्तुत गर्नुभएको छ। “स्वदेशमै बस्दै आफ्नो सीपमा लगनशील भए राम्रो कमाइ गर्न सकिन्छ,” महराको निष्कर्ष छ।

