डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता, नर्वेमाथि ४–१ को शानदार जित

काठमाडौँ, १३ असार – फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै लगातार तेस्रो जितसहित समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। यसअघि नै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका फ्रान्स र नर्वेबीचको यो खेल समूह विजेता टुंग्याउने निर्णायक भिडन्त थियो।

जितसँगै फ्रान्सले तीनै खेल जित्दै शतप्रतिशत नतिजासहित समूहको शीर्ष स्थान कब्जा गर्‍यो। यसअघि फ्रान्सले सेनेगललाई ३–१ र इराकलाई ३–० ले हराएको थियो। यता २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे भने समूह उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ। अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा फ्रान्सका उसमान डेम्बेले नायक बने। उनले पहिलो हाफमै ३२ मिनेटभित्र ह्याट्रिक पूरा गर्दै टोलीलाई सहज जित दिलाए।

डेम्बेलेले सातौं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। उनले २०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे भने त्यसको एक मिनेटपछि नर्वेका थेलो आसगार्डले गोल गर्दै अन्तर घटाए। तर ३२औं मिनेटमा डेम्बेलेले पुनः गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रान्सलाई ३–१ को बलियो अग्रता दिलाए।

दोस्रो हाफमा नर्वेले खेलमा फर्किने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। ५०औं मिनेटमा प्राप्त पेनाल्टीमा योर्गन स्ट्रान्ड लार्सनको प्रहार फ्रान्सका गोलरक्षक माइकल माइगनानले उत्कृष्ट रूपमा बचाए। इन्जुरी समयको चौथो मिनेटमा डिजायर डोएले अर्को गोल थप्दै फ्रान्सको ४–१ को जित सुनिश्चित गरे।

नर्वेले यस खेलमा आफ्ना स्टार स्ट्राइकर एर्लिङ हालान्डलाई आराम दिएको थियो। अघिल्लो खेलको तुलनामा पहिलो रोजाइका १० खेलाडी परिवर्तन गरे पनि नर्वेले फ्रान्सलाई केही समयसम्म राम्रो चुनौती दिएको थियो। जारी विश्वकपमा यो तेस्रो ह्याट्रिक हो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेसी र क्यानडाका जोनाथन डेभिडले पनि ह्याट्रिक गरेका थिए।

डेम्बेले फ्रान्सका लागि विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि जस्ट फोन्टेनले सन् १९५८ को विश्वकपमा दुई ह्याट्रिक गरेका थिए भने किलियन एमबाप्पेले सन् २०२२ को विश्वकपमा एक ह्याट्रिक गरेका थिए। अब फ्रान्सले नकआउट चरणमा समूह ‘एफ’ वा ‘जी’ मध्ये तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यता नर्वेले समूह ‘ई’ को उपविजेता आइभरी कोस्टको सामना गर्नेछ।

Facebook Comments Box