वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौँ, १८ कात्तिक – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र सम्मानजनक बनाउन नीतिगत पहल आवश्यक रहेको बताउनुभएको छ।

वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीलाई निःशुल्क र श्रमिकमैत्री बनाउन सरकारले गम्भीर पहल अघि बढाइरहेको बताउनुभयो।

उहाँले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक र उनीहरूको परिवारको सम्मानजनक पुनःएकीकरण तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न बोर्डलाई निर्देशन दिनुभयो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई सीप अभिवृद्धि गरी दक्ष बनाउने कार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

उहाँले वैदेशिक रोजगारीबाट आर्जित पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकार नीति अवलम्बन गरिरहेको जानकारी दिनुभयो।

प्रधानमन्त्री कार्कीले बोर्डले सञ्चालनमा ल्याएका ‘कल सेन्टर’ र ‘टेलिमेडिसिन’ सेवाहरू श्रमिक हितका दृष्टिले उपयोगी रहेको उल्लेख गर्नुभयो। साथै, कल्याणकारी सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने प्रयासले सेवा पहुँचमा सुधार आएको भन्दै प्रशंसा गर्नुभयो।

उहाँले वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्न, सीपमा आधारित उद्यम विस्तार र पुनःएकीकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै मन्त्रालयलाई कार्ययोजना बनाएर त्यसअनुसार अघि बढ्न निर्देशन दिनुभयो।

Facebook Comments Box