जनार्दन शर्मा र राम कार्कीको नेतृत्वमा प्रगतिशील अभियान सुरुआत
ललितपुर, १८ कात्तिक – ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीको नेतृत्वमा ‘प्रगतिशील अभियान’ सुरु गरिएको छ।
पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको अभियानले नेपालमा दशकौँदेखि भएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउने लक्ष्य लिएको छ। अभियानका नेताहरूले सबै प्रगतिशील शक्तिहरूबीच समाजवादी ऐक्यबद्धताको आवश्यकता औंल्याएका छन्।
पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का पूर्वउपमहासचिव जनार्दन शर्माले विद्रोहलाई पीडित र उत्पीडित जनताको अधिकारका रूपमा व्याख्या गर्दै भने, “आजको आवश्यकता पुराना गल्तीबाट सिक्दै समाजवादी ऐक्यबद्धतामा नयाँ बाटो खोज्नु हो।”
उहाँले माओवादी आन्दोलन र शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक मोडको रूपमा उल्लेख गर्दै सहिदहरूको बलिदान व्यर्थ जान नदिई समाजवादी राजनीति र जनताको सर्वोच्चतामा आधारित नयाँ दिशा तय गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, माओवादी केन्द्रका पूर्वसचिव राम कार्कीले नेपाली कम्युनिष्ट आन्दोलनभित्रको गुटबन्दी, व्यक्तिवाद र अवसरवादले आन्दोलन कमजोर बनाएको बताउँदै भने, “नेपालको वाम आन्दोलनले जनताको अपार विश्वास पाएको थियो,
तर नेताहरूको जवाफदेहिता अभावले त्यो ऊर्जा निराशामा परिणत भयो।” उहाँले वैचारिक शुद्धता, आत्मसमीक्षा र सङ्गठनात्मक नवजीवनमार्फत नयाँ समाजवादी आन्दोलन खडा गर्नुपर्नेमा बल दिनुभयो।

