राष्ट्रपतिसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

काठमाडौँ, १८ कात्तिक – ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतारको राजधानी दोहा पुगेका राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच आज शिष्टाचार भेट भएको छ।

राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलका अनुसार भेटका क्रममा दुवै नेताबीच कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्यहरूबारे विचारविमर्श भएको थियो।

राष्ट्रपति पौडेलले नेपाल संयुक्त राष्ट्रसङ्घसँग नजिक सहयोगमा रही सामाजिक न्याय, शान्ति र दिगो विकासका लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते आम निर्वाचन घोषणा गरिएको जानकारी दिँदै, स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको यात्रालाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपतिले नेपालको कार्बन उत्सर्जन नगण्य भए पनि जलवायु परिवर्तनका प्रतिकूल प्रभावले देश प्रभावित भएको उल्लेख गर्दै, ती प्रभावहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तरराष्ट्रिय सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

Facebook Comments Box