एक वर्षमा ७,५४७ विपद् घटना, ४९० जनाको ज्यान गयो
काठमाडौँ, २५ चैत – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार पछिल्लो एक वर्षमा देशभर ७ हजार ५४७ वटा विपद् घटना भएका छन्। यी घटनाबाट १३ हजार ५०४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढी, पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी र हिमपहिरो जस्ता विपद्का कारण ठूलो जनधन क्षति भएको विवरणमा उल्लेख छ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन्। एक वर्षमा ३,६५२ आगलागीका घटनामा १०४ जनाको ज्यान गएको छ भने ५६३ जना घाइते भएका छन्। आगलागीबाट ४,१८२ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।बाढीका ३२८ घटनामा ३९ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता र १४ जना घाइते भएका छन्। ६२१ पहिरोका घटनामा ७६ जनाको ज्यान गएको छ।
त्यस्तै, भारी वर्षाका ४४६ घटनामा ७ जनाको मृत्यु र २० जना घाइते भएका छन् भने ४१९ चट्याङका घटनामा ४८ जनाको ज्यान गएको छ। चट्याङबाट ३१२ जना घाइते र ५२२ परिवार प्रभावित भएका छन्। यस अवधिमा ४७७ हावाहुरी, ३२४ वन डढेलो, ५०९ जनावर आक्रमण र १३१ लेक लाग्ने घटनासमेत भएका छन्।
गत वैशाख १ गतेदेखि चैत २४ गतेसम्मको अवधिमा भएका यी विपद्का कारण कुल ४९० जनाको ज्यान गएको, ३८ जना बेपत्ता भएका र १,९६५ जना घाइते भएका प्राधिकरणले जनाएको छ।

