बैतडीमा १८ जनामा डेङ्गी सङ्क्रमण

बैतडी, १२ कात्तिक – बैतडीमा पछिल्ला तीन महिनामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालका अनुसार मेलौली नगरपालिकाका ८ जना, दशरथचन्दका ६ जना, पुर्चौंडीका ३ जना र पाटन नगरपालिकाका १ जनामा डेङ्गी पोजिटिभ देखिएको हो।

गत वर्ष जिल्लामा १०६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो। यस वर्ष सङ्ख्या कम भए पनि जोखिम यथावत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले एडिस जातको लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने भएकाले घरआँगन वरपरको पानी जम्ने स्थान हटाउन र लामखुट्टे नष्ट गर्न आग्रह गर्नुभएको छ।

डेङ्गीका लक्षणहरूमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, खान मन नलाग्ने लगायतका लक्षण देखापर्ने भएकाले यस्तो समस्या देखिए स्वास्थ्य संस्थामा जाँच गर्न विशेषज्ञहरूले आग्रह गरेका छन्।

Facebook Comments Box