चखेवा–पाँचधारे सडक स्तरोन्नतिपछि यातायात सुचारु
भोजपुर, १२ कात्तिक – बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडक मर्मतपछि पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाले सडकका विभिन्न स्थान अवरुद्ध भएपछि टेम्केमैयुङ गाउँपालिकाले स्तरोन्नति तथा मर्मतकार्य सम्पन्न गरी यातायात सञ्चालनमा ल्याएको हो।
पर्यटकीय गन्तव्य चखेवा र पाँचधारेलाई जोड्ने यो सडक बन्द हुँदा स्थानीयवासी र पर्यटक दुबैलाई आवतजावतमा कठिनाइ भइरहेको थियो। गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार पर्यटकीय महत्वका कारण सडक मर्मतलाई प्राथमिकतामा राखी छिटो काम सम्पन्न गरिएको हो।
करिब ९ किलोमिटर लम्बाइको यो सडक पुनः सञ्चालनमा आएपछि सामग्री ढुवानी, व्यापार–व्यवसाय र दैनिक आवागमन सहज बनेको स्थानीयवासीले बताएका छन्। गाउँपालिकाभित्रका अन्य सडकहरू पनि क्रमिक रूपमा मर्मत भइरहेका छन्।
Facebook Comments Box

