मुक्तिनाथ क्षेत्रमा हिमपात, यात्रु प्रभावित, यात्रामा नजान प्रशासनको आग्रह
मुस्ताङ, ११ कात्तिक – मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भएपछि दर्शनका लागि पुगेका तीर्थयात्री र पर्यटक प्रभावित भएका छन्। मुक्तिनाथ दर्शनका लागि गएराति मुस्ताङ पुगेका बसन्त गौतमका अनुसार आज बिहानैदेखि हिउँ परेपछि आवागमन कठिन बनेको छ। “हिजो बेलुका अवस्था सामान्य थियो,” उनले भने, “आज बिहान पाँच बजेतिर उठ्दा तीन–चार इञ्चसम्म हिउँ जमेको रहेछ, बाटोमा हिँड्न नै मुस्किल छ।”
होटल र पसल सञ्चालकहरूले आफ्ना वरिपरिका हिउँ बेल्चाले पन्छाइरहेका छन् भने सडकमा जमेको बाक्लो हिउँ हटाउन स्काभेटर प्रयोग गर्नुपर्ने अवस्था रहेको गौतमले बताए। जिल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको विज्ञप्तिमा निरन्तर हिमपात भइरहेको भन्दै यात्रु र पदयात्रीलाई हाललाई यात्रामा ननिस्कन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मुस्ताङका उच्च हिमाली क्षेत्र — मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क, पाँच हजार ४०० मिटरको मनाङ–मुस्ताङ थोरङला पास, ६ हजार मिटरको सरिबुङ पास र धौलागिरि पदमार्गको धम्पुस पिकलगायत क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने अनुमान गरिएको छ।
मुख्य जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार सो क्षेत्र हुँदै पदयात्रा नगर्न तथा नगराउन आग्रह गरिएको छ। “मौसम प्रतिकूल हुनसक्ने भएकाले यात्रु, पर्यटक र पदयात्रीहरूले सचेत रहनुपर्छ,” उनले भने, “हेलचेक्र्याइँ नगरी पूर्वजानकारीका आधारमा मात्र यात्रा गर्नुपर्छ।” गण्डकी प्रदेशका अन्य उच्च पहाडी र हिमाली क्षेत्रमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपातका कारण दैनिक जनजीवनसँगै पर्वतारोहण, कृषि र पर्यटन क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। तिहार र छठ पर्वको बिदामा मुस्ताङसहितका हिमाली क्षेत्रमा पदयात्रा गर्नेहरूको संख्या बढे पनि अब सरकारी कार्यालयहरू खुलेसँगै त्यसमा केही कमी आउने अनुमान गरिएको छ।

