आज देशभर वर्षाको सम्भावना
काठमाडौँ, ११ कात्तिक – पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाद्वारा आज जारी बुलेटिनअनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
त्यसैगरी बाँकी तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भने भारी हिमपात वा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली हुने अनुमान छ। रातिको समयमा पनि गण्डकी प्रदेशका केही स्थानमा तथा बागमती, लुम्बिनी, कर्णाली र कोशी प्रदेशका पहाडी–हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।

