अन्धाधुन्ध एन्टिबायोटिक प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर : विज्ञको चेतावनी

विराटनगर, ८ कात्तिक – सामान्य खोकी, ज्वरो वा दाँत दुख्दा चिकित्सकको सल्लाहबिना नै एन्टिबायोटिक सेवन गर्ने प्रवृत्ति देशभर तीव्र बनेको छ। यसले जनस्वास्थ्यमा गम्भीर असर पार्दै एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) नामक मौन महामारीलाई फैलाउँदै लगेको विज्ञहरूको चेतावनी छ।

विराटनगरकी सरिता कार्कीले आठ वर्षीय छोरालाई बारम्बार त्यही एन्टिबायोटिक खुवाउँदा असर नगरेपछि चिकित्सकले नयाँ र बलियो औषधि दिनुपरेको अनुभव सुनाउँछिन्। मोरङका रामबहादुर राई र धरानकी रीता तामाङका अनुभव पनि उस्तै छन्— चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्ने, सामाजिक सञ्जाल वा साथीभाइको सल्लाहमा एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्तिले औषधि निष्क्रिय हुँदै गएको छ।

कोशी अस्पतालका बालरोग विभाग प्रमुख डा. रामनारायण चौधरीका अनुसार पछिल्ला वर्षहरूमा सामान्य सङ्क्रमणका औषधिले काम नगर्ने बिरामी बढेका छन्। उहाँ भन्छन्, “एन्टिबायोटिकको दुरुपयोगले ब्याक्टेरिया बलियो बन्छ, एक पटक असर गरे पनि दोहोरिँदा औषधि निष्क्रिय हुन्छ— यो अत्यन्त खतरनाक सङ्केत हो।”

नोबेल मेडिकल कलेजका प्रिन्सिपल तथा वरिष्ठ फोक्सो रोग विशेषज्ञ प्रा. डा. रामहरि घिमिरेका अनुसार चिकित्सकको सिफारिसबिना औषधि सेवन, अधुरो डोज, औषधि पसलबाट उमेर वा तौलअनुसार मात्रा नपाउनु, र कीटाणु परीक्षणबिनै एन्टिबायोटिक प्रयोग हुनुजस्ता कारणले समस्या बढेको हो। उहाँ भन्छन्, “सामान्य जाँचबिना औषधि सेवन गर्दा जीवाणुमा प्रतिरोध क्षमता विकास हुन्छ, जसले रोग निको हुनै गाह्रो पार्छ।”

एन्टिमाइक्रोबियल रेजिस्टेन्स अहिले विश्वव्यापी चुनौती बनेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हरेक वर्ष करिब सात लाख मानिसको मृत्यु औषधिले काम नगरेकै कारण हुन्छ। २०१७ को विश्व बैंकको प्रतिवेदनले २०३० सम्म यो कारणले विश्व अर्थतन्त्रमा ३.४ खर्ब अमेरिकी डलरसम्मको घाटा हुनसक्ने चेतावनी दिएको छ।

नेपाल औषधि व्यवसायी सङ्घ मोरङ शाखाका अध्यक्ष देशबन्धु ढकालका अनुसार बिना ‘प्रेस्क्रिप्सन’ औषधि बिक्री हुने प्रवृत्ति अझै कायम छ। “हामी बारम्बार सदस्यहरूलाई एन्टिबायोटिक आफुखुसी नबेच्न आग्रह गर्छौं, तर कतिपय अवस्थामा उपभोक्ताको दबाबका कारण बेच्नुपर्छ,” उहाँ भन्छन्। सङ्घले औषधि व्यवसायीका लागि अभिमुखीकरण तालिम सञ्चालन गरी सचेतना बढाउने काम गरेको उनले बताए।

एन्टिबायोटिकको दुरुपयोग मानिसमा मात्र सीमित छैन। पशुपालन र मत्स्य क्षेत्रमा पनि यसको प्रयोग बढ्दै गएको छ। कोशी प्रदेशका पशु चिकित्सक विनोदकुमार शाहका अनुसार धेरै किसानले चिकित्सकको सल्लाहबिना पशुमा एन्टिबायोटिक प्रयोग गर्छन्, जसको अवशेष दूध, मासु र अण्डामार्फत मानिसको शरीरमा पुग्छ। “यो ‘वन हेल्थ’ दृष्टिकोणको विषय हो — मानिस, पशु र वातावरण एक–अर्कासँग जोडिएका छन्, त्यसैले समाधान पनि समग्र दृष्टिकोणबाट खोज्नुपर्छ,” उहाँले बताए।

विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक दिलीपकुमार यादवले विद्यालय, महिला समूह र स्वास्थ्यकर्मीमार्फत सचेतना अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताए। उहाँको भनाइमा, “एन्टिबायोटिकबारे बुझाइ कमजोर भएकाले यसको दुरुपयोग बढेको छ, अब समुदायमा प्रत्यक्ष सचेतना फैलाउनुपर्छ।”

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काका अनुसार एन्टिबायोटिक प्रतिरोध अब केवल चिकित्सक र बिरामीबीचको विषय होइन, यो सम्पूर्ण समाजको साझा चुनौती हो। “जनचेतना नै सबैभन्दा प्रभावकारी औषधि हो,” उहाँ भन्छन्, “मिडियाले तथ्य, मानवीय कथा र समाधानका दृष्टिले समाचार प्रस्तुत गरे भने समाजमा व्यवहार परिवर्तन सम्भव छ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पछिल्ला १६ वर्षदेखि नयाँ एन्टिबायोटिक विकास हुन सकेको छैन। सन् २०५० सम्म प्रतिवर्ष एक करोड मानिस एन्टिबायोटिक निष्क्रियताका कारण मृत्यु हुने अनुमान छ। नेपालमा पनि यसको असर बढ्दो छ, तर आधिकारिक अध्ययन अभावमा यथार्थ तथ्याङ्क छैन।

नेपाल सरकारले राष्ट्रिय स्वास्थ्य नीति २०१९ अन्तर्गत एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा परिभाषित गरेको छ। तर नीति–नियमको कमजोर कार्यान्वयन, निगरानी अभाव र जनस्तरमा चेतनाको कमीका कारण यसको जोखिम बढ्दै गएको स्वास्थ्य विज्ञहरूको निष्कर्ष छ।

डा. घिमिरेको भनाइमा, “एन्टिबायोटिक बचाउनु भनेको भविष्यको स्वास्थ्य बचाउनु हो। चिकित्सक, औषधि व्यवसायी, उपभोक्ता र सरकार — सबैले मिलेर मात्र यो मौन महामारीलाई रोक्न सक्छौं।”

Facebook Comments Box