काँकरभिट्टाबाट चार अर्ब ४८ करोड रुपैयाँका पेट्रोलियम पदार्थ आयात

झापा, ८ कात्तिक – चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरका पेट्रोलियम पदार्थ आयात भएका छन्।

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ (विमान इन्धन) र मट्टितेल आयात भएको हो।

गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयातमा पाँच करोड ९० लाख ३३ हजार रुपैयाँ (एक दशमलव ३० प्रतिशत) वृद्धि भएको उनले जानकारी दिनुभयो।

आयात बढेसँगै राजस्व सङ्कलन पनि तीन दशमलव २० प्रतिशतले बढेको भन्सार कार्यालयले जनाएको छ। चालु आवको पहिलो तीन महिनामा पेट्रोलियम पदार्थ आयातबाट दुई अर्ब २० करोड ६८ लाख ६२ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। यो अघिल्लो वर्षको तुलनामा रु छ करोड ८९ लाख पाँच हजारले बढी हो।

कार्यालयको तथ्याङ्कअनुसार, सो अवधिमा दुई अर्ब ३२ करोड ७८ लाख रुपैयाँ मूल्यका २६ हजार ३२० किलोलिटर पेट्रोल, एक अर्ब २६ करोड १५ लाख रुपैयाँ मूल्यका १३ हजार ३५६ किलोलिटर डिजेल, ६२ करोड ८१ लाख रुपैयाँ मूल्यका ६ हजार ३६१ मेट्रिक टन एलपी ग्यास, २० करोड २६ लाख रुपैयाँ मूल्यका दुई हजार २५६ किलोलिटर एटीएफ र तीन करोड ७९ लाख रुपैयाँ मूल्यका ४२० किलोलिटर मट्टितेल आयात गरिएको छ।

Facebook Comments Box