प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम : रघुगङ्गा गाउँपालिका

म्याग्दी, २८ जेठ –  म्याग्दी जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा अवस्थित रघुगङ्गा गाउँपालिका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाको अनुपम संगमका रूपमा परिचित छ। पवित्र कालीगण्डकी नदीको किनारदेखि विश्वको सातौँ अग्लो धौलागिरि हिमालको पूर्वी मोहोडासम्म फैलिएको यस क्षेत्रको मनोरम भूगोलले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

धौलागिरिको काखबाट बग्ने रघुगङ्गा नदीका नामबाट नामकरण गरिएको यस गाउँपालिकामा मगर, छन्त्याल, थकाली, ठकुरी, बाहुन, क्षेत्री तथा दलित समुदायको सहअस्तित्व रहेको छ। विविध जातजातिका संस्कृति, परम्परा र जीवनशैलीले रघुगङ्गालाई जीवित सांस्कृतिक संग्रहालयका रूपमा स्थापित गरेको छ।

रघुगङ्गाको पहिचान केवल हिमाल र पहाडमा सीमित छैन। यहाँका घना वनजङ्गल, झरना, तालतलैया, नदी तथा गुराँसले ढाकिएका डाँडाकाँडाले प्रकृतिप्रेमीलाई लोभ्याउने गरेका छन्। धौलागिरि आइसफल पदमार्ग, धौलागिरि सेञ्चुरी पदमार्ग र टोड्के–धौलागिरि पानोरमा पदमार्ग यस क्षेत्रका प्रमुख पर्यटकीय आकर्षण हुन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार रघुगङ्गामा पर्यटन विकासको अथाह सम्भावना रहेको छ। छोटो तथा लामो दूरीका ट्रेकिङ मार्ग विकास गर्न सकिने भए पनि पदमार्ग, सूचना बोर्ड, सङ्केत पोल, खानेपानी, आश्रयस्थल तथा सञ्चारजस्ता आधारभूत पूर्वाधार निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो।

धौलागिरि हिमालको आधार शिविरलाई समेट्ने १८२ किलोमिटर लामो धौलागिरि आइसफल पदमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र पूर्वाधार विकासका लागि सङ्घीय तथा प्रदेश सरकारसँग पहल भइरहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो।

यस पदमार्गबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनौँ हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ। साथै डाँफे, मुनाल, कस्तुरी, नाउर, घोरल, हिमचितुवालगायत दुर्लभ वन्यजन्तु तथा पक्षीको अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र प्रकृति र साहसिक पर्यटनका लागि उपयुक्त मानिन्छ। कालिबराह, लाटीबराह, निलीबराह, सेतीबराह र पहेँलीबराह तालसमेत पर्यटकका लागि आकर्षणका केन्द्र बनेका छन्।

रघुगङ्गा धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो। धौलागिरिको फेदीमा अवस्थित रिखार धार्मिक तथा प्राकृतिक पर्यटनको दुर्लभ सङ्गम मानिन्छ। करिब चार हजार ६०० मिटर उचाइमा रहेको यस स्थलमा जनैपूर्णिमाका अवसरमा विशेष पूजाआजा हुने गर्दछ। गायत्री मन्दिर, धौलेश्वर महादेव, भगवती कोत, नौलीबराह, नांगीदेवी, मालिका धुरी, मण्डलीथान र भूमेथानलगायत धार्मिक स्थलले यस क्षेत्रको आध्यात्मिक महत्वलाई थप उजागर गरेका छन्।

इतिहासका दृष्टिले पनि रघुगङ्गा महत्वपूर्ण मानिन्छ। भगवती कोत १७औँ शताब्दीको ऐतिहासिक सम्पदासँग जोडिएको छ भने रुइसे क्षेत्र तत्कालीन बाइसे–चौबिसे राज्यकालको शासन केन्द्रका रूपमा परिचित छ। त्यहाँ पुराना दरबारका भग्नावशेष, कुवा तथा अन्य ऐतिहासिक प्रमाणहरू अझै सुरक्षित छन्। वडा नम्बर ३ को रानीपौवा पनि ऐतिहासिक धरोहरका रूपमा चिनिन्छ।

दोस्रो विश्वयुद्धमा बेलायतको सर्वोच्च सैन्य पदक ‘भिक्टोरिया क्रस’ प्राप्त गर्ने दिवङ्गत तुलबहादुर पुनको जन्मथलो पनि यही गाउँपालिका हो। उहाँको स्मृतिमा सङ्ग्रहालय स्थापना गर्ने योजना अघि बढाइएको छ। रघुगङ्गाको अर्को विशेषता यसको मौलिक कला र संस्कृति हो। थालीनाच, पुख्र्यौली नाच, सोरठी, मादले मारुनी, यानीमाया, साइलो भाका, सेदो भाका, रत्यौली तथा नौमती पञ्चेबाजाले यहाँको सांस्कृतिक जीवनलाई समृद्ध बनाएका छन्। विशेषगरी चिमखोला थालीनाचको उद्गमस्थलका रूपमा परिचित छ।

थालीनाचकी सर्जक हिरामाया श्रीष पुनको योगदानले यो कला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित बनेको छ। दग्नाममा भूमेपूजाका अवसरमा गरिने लिङ्गो जुधाउने परम्परा करिब चार सय वर्ष पुरानो सांस्कृतिक सम्पदा हो। यस्तै, छन्त्याल समुदायको उद्गमस्थल मानिने झिङखानी क्षेत्र धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

साहसिक पर्यटनका लागि पनि रघुगङ्गा उपयुक्त गन्तव्य हो। कुइनेमङ्गले, चिमखोला, पाखापानी, बेग र दग्नाम क्षेत्रमा गरिने परम्परागत भिर मह सिकारले विदेशी पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ। अग्ला चट्टानमा झुन्डिएर गरिने मह सिकार स्थानीय परम्परा, साहस र जीवनशैलीको अनुपम उदाहरण मानिन्छ। पर्यटन प्रवर्द्धनसँगै गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र जीवनस्तर सुधारलाई प्राथमिकता दिएको छ।

झीँ रायखोर, मौवाफाँट र रानीपौवामा घरबास (होमस्टे) सञ्चालनमा रहेका छन्। स्थानीय संस्कृति, परिकार र जीवनशैलीसँग पर्यटकलाई प्रत्यक्ष परिचित गराउँदै पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ। प्राकृतिक सम्पदा, धार्मिक आस्था, ऐतिहासिक विरासत र मौलिक संस्कृतिको अनुपम संयोजन रहेको रघुगङ्गा गाउँपालिका आगामी दिनमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने सम्भावना बोकेको क्षेत्रका रूपमा हेरिएको छ।

Facebook Comments Box