कुखुरापालन व्यवसायबाट आत्मनिर्भर बने इलामका महेन्द्र घिमिरे

इलाम, २८ जेठ – इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे वैदेशिक रोजगारीबाट फर्किएपछि कुखुरापालन व्यवसायमा लागेर आत्मनिर्भर बन्न सफल हुनुभएको छ। उहाँले सञ्चालन गर्दै आउनुभएको नवमी पोल्ट्री फार्म एन्ड फ्रेस हाउस अहिले स्थानीयस्तरमा कुखुराको मासु उत्पादन तथा बिक्रीको भरपर्दो केन्द्रका रूपमा स्थापित भएको छ।

बिहानदेखि बेलुकासम्म कुखुराको खोर व्यवस्थापन, दाना–पानीको व्यवस्था, सरसफाइ तथा मासु तयारी र बजार व्यवस्थापनमा व्यस्त रहने घिमिरे केही वर्षअघि वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। विक्रम संवत् २०६७ मा विदेश जानुभएका उहाँ पाँच वर्षपछि २०७१ सालमा गाउँ फर्किनुभएको थियो। विदेशबाट फर्किएपछि गाउँमै केही गर्ने सोच भए पनि कुन व्यवसाय रोज्ने भन्ने अन्योल रहेको उहाँ बताउनुहुन्छ। अन्ततः २०७२ सालदेखि कुखुरापालन व्यवसाय सुरु गरेको उहाँको भनाइ छ।

व्यवसायको सुरुवाती चरण सहज भने थिएन। त्यसबेला गाउँमा नियमित विद्युत् सेवा उपलब्ध नभएकाले सोलार प्यानलको सहायतामा चल्ला पालन गर्नुपरेको थियो। आवश्यक तापक्रम कायम गर्न कठिनाइ हुँदा केही क्षति बेहोर्नुपरे पनि उहाँले हार मान्नुभएन। अनुभव बटुल्दै चल्ला हुर्काएर बिक्री गर्ने कामलाई विस्तार गर्दै लैजानुभयो।

हाल उहाँको फार्ममा करिब २०० वटा बिक्रीयोग्य कुखुरा र २५० वटा चल्ला रहेका छन्। जिउँदो कुखुरा प्रतिकिलो ४०० रुपैयाँ र काटेको मासु प्रतिकिलो ५०० रुपैयाँमा बिक्री हुने गरेको छ। होलसेल बजारमा भने प्रतिकिलो ३०० रुपैयाँसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो। फार्ममा उत्पादित कुखुरा पाँचथरको रवि र झापाको दमकसम्म पुग्ने गरेको छ। “सुरुमा धेरै चुनौती आए, तर कहिल्यै हार मानिनँ,” घिमिरे भन्नुहुन्छ, “कुखुरापालनमा नगद कारोबार प्रत्यक्ष हुने भएकाले आम्दानीको परिणाम छिट्टै देख्न सकिन्छ।”

यद्यपि व्यवसाय विस्तारका क्रममा केही चुनौती अझै कायम छन्। लुम्दे क्षेत्र सदरमुकामबाट टाढा भएकाले चल्ला ल्याउन र उत्पादित कुखुरा बजारसम्म पु¥याउन ढुवानी समस्या रहेको उहाँको भनाइ छ। यसले उत्पादन लागत बढाउने गरेको छ। घिमिरेको व्यवसायलाई सरकारी सहयोगले पनि महत्वपूर्ण टेवा पुगेको छ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले फाकफोकथुम गाउँपालिका, अन्य स्थानीय तह तथा दायित्व संस्थासँगको साझेदारीमा सञ्चालन गरेको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनामार्फत उहाँले विभिन्न प्रकारका सहयोग प्राप्त गर्नुभएको छ। परियोजनाअन्तर्गत उहाँले व्यावसायिक योजना निर्माणसम्बन्धी तालिम, आर्थिक अनुदान तथा आवश्यक सामग्री प्राप्त गर्नुभएको छ।

प्राप्त अनुदानबाट फ्रिज, खानेपानीका पाइप तथा कुखुरापालनका लागि आवश्यक अन्य सामग्री खरिद गर्न सकिएको उहाँ बताउनुहुन्छ। “यस कार्यक्रमले अन्य व्यवसायीसँग अनुभव आदानप्रदान गर्ने अवसर दियो,” उहाँले भन्नुभयो, “व्यावसायिक योजना बनाउन सजिलो भयो। अहिले नयाँ भवन निर्माणको तयारी पनि भइरहेको छ।”

घिमिरेको फार्मले परिवारका दुई सदस्यलाई प्रत्यक्ष रोजगारी दिएको छ भने खोर सरसफाइ र अन्य काममा स्थानीय व्यक्तिहरूले पनि अवसर पाएका छन्। वार्षिक करिब आठ लाख रुपैयाँ आम्दानी गर्ने यो व्यवसाय गाउँमै बसेर आत्मनिर्भर बन्न सकिने उदाहरण बनेको छ।

फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले सीमित स्रोतसाधन, यातायातको समस्या र प्रारम्भिक असफलताका बाबजुद घिमिरेले देखाएको लगनशीलता प्रेरणादायी रहेको बताउनुभयो। “गाउँमै बसेर उद्यम गर्न चाहने युवाका लागि उहाँको सफलता उदाहरणीय छ,” अध्यक्ष खनालले भन्नुभयो, “उद्यमशीलता विकासका कार्यक्रममार्फत युवालाई प्रोत्साहन गर्ने प्रयासलाई गाउँपालिकाले निरन्तरता दिएको छ।”

Facebook Comments Box