डेङ्गु नियन्त्रणका लागि ‘सफा शुक्रबार’ अभियान सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं, २८ जेठ – सरकारले आगामी पाँच वर्षभित्र डेङ्गु सङ्क्रमणदर ६० प्रतिशतले घटाउने महत्वाकांक्षी लक्ष्यसहित बहुक्षेत्रीय योजना अघि सारेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेङ्गु रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनाअनुसार सङ्घीय, प्रदेश र स्थानीय तहका सबै निकायलाई डेङ्गु नियन्त्रण अभियानमा सहभागी गराई लक्ष्य हासिल गर्ने रणनीति तय गरिएको छ।

सरकारले डेङ्गुबाट हुने मृत्युदर ०.०१ प्रतिशतभन्दा कममा झार्ने लक्ष्यसमेत लिएको छ। यसका साथै डेङ्गुका गम्भीर असर न्यूनीकरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। योजनाअन्तर्गत रोगको फैलावटको नियमित निगरानी, जोखिमयुक्त क्षेत्रमा पूर्वचेतावनी प्रणाली सुदृढीकरण तथा डेङ्गुवाहक लामखुट्टेको गतिविधि पहिचान गर्न ‘एकीकृत वाहक निगरानी प्रणाली’लाई थप प्रभावकारी बनाइनेछ। साथै जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यममार्फत व्यापक सूचना प्रवाह गरिने योजना रहेको छ।

डेङ्गु नियन्त्रणको प्रमुख उपायका रूपमा सरकारले ‘सफा शुक्रबार’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ। प्रत्येक हप्ता विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरी लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने लक्ष्य राखिएको छ। योजनाअनुसार उच्च जोखिमयुक्त क्षेत्रलाई ‘शून्य सहिष्णुता क्षेत्र’ घोषणा गरिनेछ। पार्क, पोखरी, पानीका फोहोरा तथा डेङ्गुवाहक लामखुट्टे हुर्कन सक्ने अन्य स्थानमा सरसफाइलाई कडाइका साथ लागू गरिनेछ।

साथै पानी ट्याङ्कीमा लामो समय भण्डारण गर्ने प्रवृत्ति घटाई पाइपमार्फत आपूर्ति हुने पानीको प्रयोग बढाउन प्रोत्साहन गरिने नीति लिइनेछ। सरकारले जलाशयमा लार्भा खाने माछाको प्रयोग बढाउने तथा अत्यावश्यक स्थानमा लामखुट्टे नियन्त्रणका लागि रसायन छर्किने व्यवस्था पनि गर्ने भएको छ।

विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण केही वर्षअघिसम्म मुख्यतः तराई क्षेत्रमा सीमित रहेको डेङ्गु पछिल्लो समय देशभर फैलिएको छ। गत वर्ष नेपालका सबै ७७ जिल्लामा डेङ्गु सङ्क्रमण देखिएको थियो। यस वर्ष हालसम्म ६८ जिल्लामा ९१५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। कीटजन्य रोग शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालका अनुसार पछिल्ला तीन वर्षदेखि मनसुनसँगै डेङ्गुका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ।

उहाँका अनुसार सन् २०२६ को जनवरीयता सुनसरी, चितवन, काठमाडौँ, झापा, मोरङ, रुपन्देही, कञ्चनपुर, मकवानपुर, ओखलढुङ्गा र सिन्धुलीलगायत जिल्लामा डेङ्गु सङ्क्रमण देखिएको छ। डेङ्गु नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकको नेतृत्वमा राष्ट्रिय डेङ्गु टास्क फोर्स गठन गरेको छ।

नियमित निगरानीका आधारमा पुस २०८२ यता बिरामी बढेका १९ स्थानीय तहलाई सतर्कता अपनाउन र रोकथामका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ भने थप १० स्थानीय तहलाई परिपत्र गर्ने तयारी भइरहेको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार हाल स्वास्थ्य सेवा विभागमा डेङ्गु पहिचानका लागि आठ हजार द्रुत परीक्षण किट मौज्दात छन्। थप ३० हजार किट खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

त्यसैगरी स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि भर्चुअल तथा प्रत्यक्ष माध्यमबाट तालिम सञ्चालन गरिनेछ। डेङ्गु उपचार व्यवस्थापनबारे निजी तथा सरकारी अस्पतालका एक हजार ७०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्थानीय तहमा डेङ्गु नियन्त्रणलाई थप प्रभावकारी बनाउन आगामी श्रावण महिनालाई ‘डेङ्गु सचेतना महिना’का रूपमा मनाउने तयारी गरिएको छ। यस अवधिमा लामखुट्टेको बासस्थान खोजी तथा नष्ट अभियान, लार्भा नियन्त्रण, जनचेतनामूलक कार्यक्रम र बहुक्षेत्रीय समन्वयका गतिविधि सञ्चालन गरिनेछन्।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ४५० स्थानीय तह र देशभरका ७७ जिल्लामा डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी तथा नष्ट अभियान सञ्चालन गर्न पाँच करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। स्वास्थ्य अधिकारीहरूले डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै समुदाय, स्थानीय तह, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्।

Facebook Comments Box