सेती पुलको दोस्रो पटक म्याद थप, २०८३ फागुनसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य

कास्की, २८ जेठ – पृथ्वीराजमार्गअन्तर्गत पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ। मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) अन्तर्गत निर्माण भइरहेको उक्त पुलको नयाँ म्याद २०८३ फागुन २१ गतेसम्म कायम गरिएको छ।

सेती नदीमाथि हाल रहेको पुलको अपस्ट्रिम र डाउनस्ट्रिमतर्फ १९०–१९० मिटर लम्बाइका दुईवटा पक्की पुल निर्माणका लागि २०७९ भदौ २६ गते एक अर्ब सात करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक विभागमार्फत निर्माण भइरहेको पुल तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्धारित समयमा काम पूरा हुन नसकेपछि गत भदौमा पहिलो पटक म्याद थप गरिएको थियो।

मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार हालसम्म पुल निर्माणको भौतिक प्रगति करिब ६१ प्रतिशत पुगेको छ। अब निर्माण कार्यमा देखिएका अधिकांश समस्या समाधान भइसकेकाले निर्माण कम्पनीले तीव्र गतिमा काम अगाडि बढाएर थपिएको समयभित्र परियोजना सम्पन्न गर्ने विश्वास गरिएको उहाँले बताउनुभयो।

पुल निर्माणमा ढिलाइ हुनुको मुख्य कारणमध्ये सेती नदीको उत्तरतर्फ पर्ने क्षेत्रमा सडक पहुँच विस्तारका लागि केही संरचना हटाउनुपर्ने अवस्था रहेको थियो। एसियाली विकास बैंकको नीतिअनुसार प्रभावित जग्गाधनी र व्यवसायीलाई वैकल्पिक सडक पहुँच सुनिश्चित गर्नुपर्ने भएकाले दुईवटा घर भत्काउनुपर्ने भएको थियो। तर, क्षतिपूर्ति र मुआब्जासम्बन्धी विषयमा सहमति हुन नसक्दा निर्माण कार्य प्रभावित बनेको थियो।

आयोजना प्रमुख कुँवरका अनुसार प्रभावित जग्गाधनी केदार पौडेल र माधव पौडेलले हाल मुआब्जा रकम बुझिसकेका छन् र असारको पहिलो साताभित्र संरचना खाली गर्ने प्रतिबद्धता जनाएका छन्। यससँगै निर्माणस्थलमा रहेका अवरोध हट्ने र काम थप सहज हुने अपेक्षा गरिएको छ।

निर्माण कम्पनीले चीनबाट आवश्यक सामग्री आयातमा भएको ढिलाइ तथा खानेपानीका पाइप स्थानान्तरणलगायतका प्राविधिक समस्याका कारण पनि निर्माण कार्य प्रभावित भएको जनाएको छ। यद्यपि हाल ती समस्या समाधानतर्फ उन्मुख रहेकाले अब काम रोकिने अवस्था नरहेको आयोजना कार्यालयको भनाइ छ।

हालसम्म पुलका लागि आवश्यक १२० वटा पाइल फाउन्डेसन निर्माण सम्पन्न भइसकेको छ। साथै पाइल क्याप, चारवटा टावर तथा एउटा पुलमा गर्डर र क्रस गर्डर जडानको काम पनि पूरा भएको आयोजनाले जनाएको छ। मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको महत्वपूर्ण संरचनाका रूपमा रहेको सेती पुल निर्माण सम्पन्न भएपछि पोखरा क्षेत्रमा सवारी आवागमन थप सहज, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box