सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

सुनसरी, २८ जेठ –  सिटी सफारी (ई–रिक्सा) सञ्चालनलाई सुरक्षित, व्यवस्थित र जिम्मेवार बनाउन सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले क्युआर कोडसहितको सुरक्षित चालक पोसाक वितरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको हो।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बुधबार इटहरीमा आयोजित कार्यक्रममा ३०० जना सिटी सफारी चालकलाई क्युआर कोडयुक्त पोसाक वितरण गर्नुभयो। अभियानअन्तर्गत चालकको पहिचानलाई स्पष्ट र विश्वसनीय बनाउने तथा यात्रुको सुरक्षा र विश्वास अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

पछिल्ला वर्षहरूमा इटहरी, धरान, विराटनगरलगायत कोशी प्रदेशका प्रमुख सहरमा ई–रिक्साको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। तर दर्ता, रुट निर्धारण तथा सञ्चालनसम्बन्धी स्पष्ट कानुनी र नीतिगत व्यवस्थाको अभावका कारण यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

प्रहरीका अनुसार अभियानको मुख्य उद्देश्य चालकको पहिचान सुनिश्चित गर्नु, यात्रुमा विश्वास बढाउनु तथा दुर्घटना र सम्भावित आपराधिक गतिविधिको जोखिम न्यूनीकरण गर्नु हो। क्युआर कोडसहितको पोसाक प्रयोग भएपछि चालकको विवरण सहज रूपमा पहिचान गर्न सकिने र सेवाको पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा सिटी सफारीसँग सम्बन्धित दुई हजार ७३२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ११६ जनाको मृत्यु भएको छ भने तीन हजार ९७० जना घाइते भएका छन्।तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४५३, २०७९/८० मा ५५२, २०८०/८१ मा ४४६ र २०८१/८२ मा ५८१ वटा दुर्घटना भएका थिए। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मात्रै ७०० दुर्घटना भइसकेका छन्।

मृत्यु हुनेको सङ्ख्या पनि चिन्ताजनक देखिएको छ। आर्थिक वर्ष २०७८/७९ मा २२, २०७९/८० मा २४, २०८०/८१ मा ३६ र २०८१/८२ मा १५ जनाको ज्यान गएको थियो। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म थप १९ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै, घाइते हुनेको सङ्ख्या पनि उच्च छ। आर्थिक वर्ष २०७८/७९ मा ६६८, २०७९/८० मा ७६२, २०८०/८१ मा ५९४ र २०८१/८२ मा ७५१ जना घाइते भएका थिए। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एक हजार १९५ जना घाइते भइसकेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक घिमिरेले बढ्दो सवारी चापसँगै ट्राफिक अनुशासन र सडक सुरक्षाको महत्व थप बढेको बताउनुभयो। सुरक्षित चालक नै सुरक्षित यात्राको आधार भएको उल्लेख गर्दै उहाँले ट्राफिक नियमको पूर्ण पालना गर्न र जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न चालकहरूलाई आग्रह गर्नुभयो।

उहाँले क्युआर कोडसहितको चालक पोसाकले चालकको पहिचानलाई स्पष्ट बनाउनुका साथै यात्रुलाई सुरक्षित र विश्वसनीय सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रहरीका अनुसार मोरङबाट सुरु गरिएको यो अभियान क्रमशः कोशी प्रदेशका अन्य जिल्लामा समेत विस्तार गरिनेछ। अभियानले सिटी सफारी सेवाको व्यवस्थापन सुधार गर्दै दुर्घटना न्यूनीकरण र सुरक्षित सार्वजनिक यातायात प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box