काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गर्ने

काठमाडौँ, २४ असोज – काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा महानगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गर्ने भएको छ।

यसका लागि रेबिजविरुद्धको खोप र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न इच्छुक संघ–संस्थालाई आवेदन दिन महानगरपालिकाले आह्वान गरेको छ। इच्छुक संस्थाले १५ दिनभित्र महानगरको कृषि तथा पशुपन्छी विभागमा सम्पर्क गरी आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ।

महानगरको कृषि तथा पशुपन्छी विभागकी पशु चिकित्सक डा. पूजा खनालका अनुसार, आवेदन दिने संस्थाले आफ्नो विधान, दर्ता प्रमाणपत्र, कामपाको सूचीकृत प्रमाण, बन्ध्याकरणसम्बन्धी कार्य अनुभव, पशु चिकित्सकको प्रमाणपत्र, पशु ओसारपसारका सवारीसाधन, सेल्टर तथा बन्ध्याकरण कक्ष भएको प्रमाण, भाडामा भए सम्झौता पत्र, र आवश्यक सामग्री व्यवस्थाको विवरण पेस गर्नुपर्नेछ।

डा. खनालका अनुसार, संस्थाहरूले प्रस्तुत गरेका पूर्वाधारको मूल्याङ्कनपछि योग्य ठहरिएका संस्थासँग सम्झौता गरी कार्यादेश दिइनेछ। कार्यको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन पनि गरिनेछ।

काठमाडौँ महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार ५०० कुकुर र बिरालोको बन्ध्याकरण गरिएको थियो भने १६ हजारमा रेबिजविरुद्धको खोप लगाइएको थियो। यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ६७० बन्ध्याकरण र १६ हजार ५६९ पशुमा खोप लगाइएको थियो।

Facebook Comments Box