‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई ललितपुर महानगरद्वारा पाँच लाख सहयोग
पाटन (ललितपुर), २४ असोज – भदौ २३ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
आज आयोजित विशेष कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई सहयोग रकम खातामा जम्मा गरिएको भौचर र समवेदना पत्र हस्तान्तरण गर्नुभयो।
महानगर कार्यपालिकाको असोज १० गते बसेको बैठकको निर्णयअनुसार उक्त सहयोग रकम प्रदान गरिएको हो। प्रमुख महर्जनले भन्नुभयो, “सुशासन र भ्रष्टाचार अन्त्यका लागि भएको आन्दोलनमा विनोद महर्जनले दिएका बलिदानप्रति सम्मानस्वरूप महानगरले यो सहयोग गरेको हो। राष्ट्रले शहीद घोषणा गरिसकेको उहाँको अन्त्येष्टिमा पनि महानगरले सहयोग गरेको थियो।”
महानगरका प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जनले शहीद महर्जनको योगदानको कदर र परिवारप्रतिको सहानुभूति स्वरूप यो सहयोग गरिएको बताउनुभयो।
शहीद महर्जनकी दिदी विना महर्जनले भाइको बलिदानलाई सदाको लागि स्मरणीय बनाउन ललितपुर महानगरभित्र सालिक निर्माण गर्न आग्रह गर्नुभयो।

