निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
काठमाडौँ, २२ असोज – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विषयमा छलफल गर्नका लागि यही असोज ३० गते राजनीतिक दलहरूलाई बोलाएको छ।
आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरू र गत निर्वाचनमा कम्तीमा एक वडा सदस्य जितेका राजनीतिक दलहरूलाई छलफलका लागि औपचारिक पत्राचार गरेको हो।
आयोगले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दललाई पत्र पठाई आसन्न निर्वाचनको तयारी, सम्भावित मिति र आवश्यक व्यवस्थापनका विषयमा विचार–विमर्श गर्न आह्वान गरेको जनाइएको छ।
यसअघि आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको आन्तरिक कार्ययोजना अन्तर्गतको तयारी रहेको बताइएको छ। “निर्वाचन कार्यतालिका प्रारम्भिक रूपमा तयार गरिएको हो।
राजनीतिक दलहरूसँगको छलफलपछि मात्र निर्वाचन कार्यक्रम र प्रक्रिया सम्बन्धी अन्तिम निर्णय लिइनेछ,” आयुक्त डा. तुलाधरले बताउनुभयो।

