मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटक घटे
गण्डकी, २२ असोज – अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्षको मुख्य पर्यटकीय यामको सुरुवातसँगै विदेशी पर्यटकको सङ्ख्या घटेको छ। आयोजनाका तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा १९ हजार ३८६ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरे, जुन गत वर्षको सोही अवधिको तुलनामा तीन हजार सात सय दुईले कम हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रवीन कडरियाका अनुसार सेप्टेम्बर–अक्टोबर महिना परम्परागत रूपमा मुख्य पर्यटकीय सिजन मानिँदै आएको भए पनि यसपटक पर्यटक आगमनमा गिरावट आएको छ। “मुख्य याममै ‘जेनजी’ प्रदर्शन र प्रतिकूल मौसमका कारण धेरै पर्यटकले भ्रमण रद्द गरे,” उहाँले बताउनुभयो।
उहाँका अनुसार सेप्टेम्बरमा एसियाली देशका ८ हजार ५४२ र अन्य मुलुकका १० हजार ८४४ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा प्रवेश गरेका थिए। विशेषगरी मुक्तिनाथलगायतका धार्मिक एवं हिमाली गन्तव्यतर्फ भारतीय पर्यटकको आवागमनमा उल्लेख्य कमी आएको उहाँले जानकारी दिनुभयो।
डा. कडरियाले अन्नपूर्ण क्षेत्र शान्त र सुरक्षित रहेको बताउँदै विदेशी तथा आन्तरिक पर्यटकलाई निर्धक्क भएर भ्रमण गर्न आग्रह गर्नुभयो। उहाँका अनुसार चाडपर्वको यो मौसम आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि उपयुक्त समय हो।
“नेपाल अझै सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वभर पु-याउन सरकार, निजी क्षेत्र र सम्पूर्ण सरोकारवाला एकैसाथ लाग्नुपर्छ,” डा. कडरियाले जोड दिनुभयो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल प्रवेश टिकट कक्षका अमृत पुनका अनुसार बुधबार मात्रै झण्डै २०० विदेशी पर्यटकले घोरपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन्।
पछिल्ला दुई–तीन दिनयता आगमन केही बढे पनि अघिल्ला वर्षको तुलनामा अझै न्यून रहेको उहाँले बताउनुभयो। “यसै समयमा दैनिक ४०० जना विदेशी पर्यटक आउने गर्दथे, अहिले त्यो सङ्ख्या आधाभन्दा पनि घटेको छ,” पुनले बताए।
घोरपानीका होटल व्यवसायी डमबहादुर पुनले समेत यस याममा बुकिङ रद्द हुने क्रम बढेको बताउनुभयो। “हाम्रो होटलमा मात्रै २७ वटा समूहले बुकिङ रद्द गरेका छन्,” उहाँले दुखेसो गर्नुभयो।
सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ जिल्लाका १५ स्थानीय तहका ८७ वडा पर्दछन्।
प्राकृतिक सौन्दर्य, हिमाली जनजीवन, जैविक विविधता र सांस्कृतिक विशेषताका कारण अन्नपूर्ण क्षेत्र आन्तरिक तथा विदेशी दुवै पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा परिचित छ।

