टी–२० विश्वकप छनोटमा कुवेतविरुद्ध नेपालको जित
काठमाडौं, २२ असोज – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा विजयी सुरुवात गरेको छ। बुधबार राति भएको समूह चरणको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ रनको फराकिलो जित दर्ता गर्दै प्रतियोगितामा बलियो सुरुवात गरेको हो। जितसँगै नेपालले अंक तालिकामा २ अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ।
नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याउँदै खेलेको कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भएको थियो। बलिङतर्फ सन्दीप लामिछाने, कप्तान रोहित पौडेल र ललित राजवंशीले समान दुई–दुई विकेट लिँदै कुवेतलाई दबाबमा पारे। सन्दीपले १५औँ ओभरमा लगातार दुई विकेट सहित मेडन ओभर खेल्दै उत्कृष्ट प्रदर्शन गरे। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले पनि एक–एक विकेट हात पारे।
कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ र मति भास्करले ११ रन जोडे। अन्य ब्याटरहरू दोहोरो अंकमा प्रवेश गर्न सकेनन्। यसअघि ओमानको अल एमिरेट्स क्रिकेट मैदान टर्फ–१ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो।
नेपालका ओपनर कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन बनाए। दीपेन्द्र सिंह ऐरी र गुल्सन झा दुवैले २०–२० रन जोडे भने कप्तान रोहित पौडेल १६ रनमा आउट भए। नेपालले अन्तिम ओभरमा दुई विकेट गुमाएको थियो। बलिङतर्फ कुवेतका नवीनराज राजेन्द्रनले दुई विकेट लिँदा मोहम्मद आकिफ फारुक, अनुदिप चेन्थामारा र मोहम्मद अस्लामले समान एक–एक विकेट हात पारे।
नेपाल रहेको समूह ‘बी’मा कुवेत र जापान छन्। समूह ‘ए’मा मलेसिया, कतार र यूएई तथा समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। ९ टोली सहभागी यस छनोट प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा पुगेका टोलीमध्ये शीर्ष तीनले विश्वकपका लागि स्थान सुनिश्चित गर्नेछन्। नेपालले समूह चरणको दोस्रो खेल शुक्रबार जापानविरुद्ध खेल्ने तालिका रहेको छ।

