प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर पुनःनिर्माण गर्ने
विराटनगर, २२ असोज — कोशी प्रदेश सरकारले हालैको बाढी र पहिरोका कारण भत्किएका तथा बगाइएका सबै घरहरू पुनःनिर्माण गरिदिने निर्णय गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी–पहिरोपीडितका घरहरू पुनःनिर्माण गर्ने निर्णय गरेको हो।
बैठकका अनुसार विपद्बाट सबैभन्दा बढी क्षति भएका इलाम, झापा र मोरङका घरहरूको पुनर्निर्माण कार्य तत्काल सुरु गरिनेछ। परिषद्ले घरहरूको विस्तृत विवरण सङ्कलन गर्दै पुनर्निर्माण कार्यलाई एकसाथ अगाडि बढाउने निर्णय गरेको छ।
त्यस्तै, इलाम जिल्लाका सात वटा स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ। राहत तथा पुनःस्थापनाका कार्यमा समन्वय गर्न प्रदेश सरकारले मन्त्रीहरूलाई जिम्मेवारी तोकेको छ।
इलाम जिल्लाको समन्वयका लागि आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई जिम्मा दिइएको छ। सो टोलीले स्थलगत निरीक्षण गरी पुनर्निर्माण कार्यलाई तीव्रता दिनेछ।
सुनसरी जिल्लामा वन, पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डल र मन्त्री भण्डारीले समन्वय गर्नेछन्। झापाको पुनर्निर्माण कार्यका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई संयोजन जिम्मेवारी दिइएको छ।
बैठकले चालु आर्थिक वर्षका योजनाहरूको खर्चसमेत पुनरावलोकन गरी आवश्यक परे कटौती गरेर पुनर्निर्माणमा खर्च गर्न सिफारिस गरेको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबै प्रकारका बाटोहरू तत्काल खुलाउने कार्यमा आफ्ना संयन्त्र परिचालन गर्न निर्देशन दिइएको छ।मुख्यमन्त्री कार्कीले बैठकमा पुनर्निर्माण र राहत कार्यमा कुनै कसर नराखी तीव्र गतिमा काम अघि बढाउन निर्देशन दिनुभएको थियो।
त्यस्तै, विपद्मा प्रभावित नागरिकको सहयोगका लागि उद्योगी–व्यवसायी, अधिकारकर्मी, राजनीतिक दल, बैंक तथा वित्तीय संस्था, कर्मचारी र सर्वसाधारण सबैलाई एकजुट भएर सहयोग गर्न आह्वान गर्ने निर्णय पनि गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख कमल थापाले जानकारी दिनुभयो।

