रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपा अग्रस्थानमा
भैरहवा, २३ फागुन – रुपन्देहीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रस्थानमा रहेका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा रास्वपाका उम्मेदवारहरूले अन्य दलका उम्मेदवारलाई पछि पार्दै सबै क्षेत्रमा अग्रता कायम गरेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुपन्देही–१ मा रास्वपाका उम्मेदवार सुनिल लम्साल १४ हजार ८२४ मतसहित अग्रस्थानमा रहेका छन्। उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रज्वल बोहराले चार हजार ४१४ मतसहित पछ्याइरहेका छन्।
रुपन्देही–२ मा रास्वपाका उम्मेदवार सुलभ खरेल ३२ हजार १८८ मतका साथ अग्रस्थानमा छन्। उहाँलाई नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले छ हजार ८४९ मतका साथ पछ्याइरहेका छन्। त्यसैगरी रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा २६ हजार २७३ मतसहित अग्रस्थानमा रहेका छन् भने नेपाली कांग्रेसका सुशील गुरुङ तीन हजार ७९३ मतका साथ दोस्रो स्थानमा छन्।
रुपन्देही–४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ १६ हजार ९५१ मतसहित अग्रस्थानमा छन्। उहाँलाई नेकपा (एमाले) का प्रमोदकुमार यादवले १४ हजार ९४४ मतका साथ पछ्याइरहेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो।
यस्तै रुपन्देही–५ मा रास्वपाका उम्मेदवार तौफिक अहमद खान १४ हजार ५३ मतसहित अग्रस्थानमा छन्। उहाँलाई नेकपा (एमाले) का खिमलाल भट्टराईले चार हजार ९२८ मतका साथ पछ्याइरहेका छन्। जिल्लामा मतगणना कार्य शान्तिपूर्ण रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो।

