एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक
बागलुङ, २२ असोज – निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन । लामो समयदेखि अलपत्र रहेको उक्त सडकको यात्रा स्थानीय बासिन्दा र यात्रुहरूका लागि अझै पनि कष्टकर बनेको छ ।
निर्माण व्यवसायीको लापरबाहीका कारण काम निर्धारित समयमा सम्पन्न हुन नसकेको दैलेखस्थित मध्यपहाडी लोकमार्ग कार्यालयका सूचना अधिकारी नवीन खरालले राससलाई जानकारी दिनुभयो । विसं २०७३ जेठ १३ भित्रमा कालोपत्र गर्नुपर्ने सम्झौता भएकामा हालसम्म करिब ७० प्रतिशत मात्र काम सम्पन्न भएको उहाँको भनाइ छ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने उक्त खण्ड कालोपत्र गर्न रु ४२ करोड ९९ लाख चार हजारमा सम्झौता गरिएको थियो। पटक–पटक म्याद थपेर पनि सम्झौताअनुसारको काम सम्पन्न नभएकाले निर्माण कम्पनीलाई काम शीघ्र सम्पन्न गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ।
“मध्यपहाडी लोकमार्गमा सवारीसाधनको चाप बढ्दो छ। दैनिक सयौँ यात्रु यही बाटो हुँदै आवतजावत गर्छन्। पातिहाल्ने–रुपगास सडक कालोपत्र गर्न आवश्यक तयारी पूरा भए पनि निर्माण कम्पनी समयमै सक्रिय नभएपछि बनेका संरचना समेत भत्किँदै गएका छन्,” सूचना अधिकारी खरालले बताउनुभयो।

