भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान सुरु गरिँदै

काठमाडौं, ६ फागुन – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान सुरु गरिँदै छ। त्यसका लागि बिहीबारै ७ जनासहित एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज ल्याइएको छ। आजदेखि १० दिनसम्म जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ।

विमानस्थलमा जडान गरिएका उपकरणले सही तरिकाले काम गरेको छ कि छैन भनेर परीक्षण उडान गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईसीबी टुका प्रमुख प्रविन न्यौपानेले जानकारी दिए।

‘यो यात्रुभन्दा पनि बढी उपकरण रहने जहाज हो। आइकाओको डकुमेन्ट, परीक्षण उडान मापदण्डअनुसार उडान सञ्चालन हुन्छ’, उनले जानकारी दिए, ‘जहाज उडेपछि विभिन्न प्रकारका उपकरणहरूको परिक्षण हुन्छ।

परीक्षण उडानका क्रममा दिउँसो केहीबेर आन्तरिकतर्फका नियमित उडान प्रभावित हुनेछन्। भैरहवाबाट बिहान ७ वटा र साँझ १२ वटा नियमित उडान हुने गरेका छन्। दिउँसो ३ घण्टाजति नियमित उडान प्रभावित हुने न्यौपानेले बताए। आउने बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी छ। त्यसअघि परीक्षण उडान गर्न लागिएको हो।

परीक्षण उडान यही फागुन १५ गतेसम्म जारी रहनेछ। परीक्षण उडानको रिपोर्ट आउन यो सकिएको दिनदेखि २ साता लाग्छ। अन्तिम रिपोर्ट आएपछि अन्तर्राष्ट्रिय नागरिक उड्डय प्राधिकरण आईकाओको नियमानुसार उडानका लागि तयार छौं भनेर एरोनोटिकल इन्फरमेसन प्लान एआईपीमा प्रकाशन गर्नुपर्छ।

‘त्यसमा विश्वव्यापी रूपमा थाहा हुनेगरी हाम्रो विमानस्थलको अवस्था के छ, कत्रा जहाज आउन सक्छन्, कुन रुटमा जान सकिन्छ भन्ने हुन्छ’, न्यौपानेले भने। एआईपीमा प्रकाशन भएको ५६ दिनपछि मात्र व्यावसायीक उडान गर्न सकिन्छ।

नेपालमा ७० वर्षपछि भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो। यसअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालकाे एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल थियाे।

Facebook Comments Box