ट्राफिक व्यवस्थापनमा सहयोग गर्दै काठमाडौँ महानगर
काठमाडौँ, ११ असोज – काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन दुई हजार ५०० ट्राफिक कोन र एक हजार २५० रिट्र्याक्टेबल बार सडकमा राख्ने काम सुरु गरेको छ । महानगरले सडक च्यानलाइजेसनमार्फत दुर्घटना र जाम न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक प्रहरी र सरोकारवालाको सहकार्यमा उक्त कार्य अघि बढाएको हो ।
कामपा सहरी योजना आयोगका सहायक विज्ञ अनुकुल निधिका अनुसार आर्थिक वर्ष २०८०/८१ मै खरिद गर्ने योजना भए पनि प्रक्रियागत चुनौतीका कारण २०८१/८२ मा खरिद सम्पन्न भएको हो । “यी सामग्रीले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो ।
निधिका अनुसार नयाँ कोनको उचाइ ९०० देखि १,००० मिलिमिटर छ । अघिल्लाभन्दा ठूलो आकारका कारण सवारी चालकलाई अनुशासित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । तीनदेखि पाँच केजी तौल भएका यी कोनहरू राति पनि स्पष्ट देखिने र सजिलै हटाउन नसकिने भएकाले सुरक्षित र स्थायी हुने अपेक्षा गरिएको छ । एक सेटमा दुई ट्राफिक कोन र दुई मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार रहने व्यवस्था गरिएको छ ।
यसरी खरिद गरिएका एक हजार २५० सेटमार्फत कूल २५ सय कोन र एक हजार २५० बार प्रयोगमा ल्याइने छन् । हाल सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोड क्षेत्रमा कोन राखिएको छ । विशेषगरी भद्रकाली–सिंहदरबार खण्डमा विपरीत दिशाबाट आउने सवारीको चाप कम गर्न लस्करी रूपमा कोन राखिएको महानगरले जनाएको छ ।
कामपाका अनुसार ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन डेटा–आधारित वैज्ञानिक दृष्टिकोण, आधुनिक प्रविधि र स्थलगत व्यावहारिक व्यवस्थापनको संयोजन आवश्यक छ, जसका लागि सबै निकायको सहकार्य अपरिहार्य मानिएको छ ।

