नेपाल राष्ट्र बैंकद्वारा नयाँ एकीकृत निर्देशन : महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत
काठमाडौँ, ११ असोज : नेपाल राष्ट्र बैंकले नयाँ एकीकृत निर्देशन जारी गर्दै निर्यातमुखी तथा महिलामैत्री उद्योगलाई विशेष कर्जा सहुलियतको व्यवस्था गरेको छ । निर्देशनअनुसार न्यूनतम १०० महिलालाई रोजगारी दिई निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थाले आधारदरमा बढीमा एक प्रतिशत बिन्दु प्रिमियम थप गरी न्यूनतम ब्याजदरमा कर्जा प्राप्त गर्नेछन् ।
साथै, कम्तीमा २५ प्रतिशत मूल्य अभिवृद्धि गरेर कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई पनि सोही सहुलियत लागु हुनेछ । त्यसैगरी, हालैका जेनजी आन्दोलनका कारण प्रत्यक्ष प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान र तिनमा कार्यरत कर्मचारीलाई तलब–भत्ता लगायतका सुविधाका लागि आधारदरमा बढीमा ०.५० प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ ।
यस्तो कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिभित्र (जुन कम हुन्छ) प्रदान गरिनेछ । यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा छ महिनाका लागि दुई प्रतिशतसम्मको ब्याज सरकारबाट अनुदानस्वरूप दिइनेछ । रोजगारदाता संस्थाले यसका लागि आगामी पुस मसान्तभित्र आवेदन दिनुपर्नेछ ।
निर्देशनमा जेनजी आन्दोलनबाट क्षति भएका व्यवसायिक सवारीसाधन तथा ढुवानीका साधन प्रतिस्थापन गर्न कर्जा प्रवाह गर्दा ऋण–मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने प्रावधान पनि राखिएको छ । यस्तै, रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण प्रभावित कर्जा सम्बन्धी ऋणीको अनुरोधमा,
सम्बन्धित इजाजत प्राप्त संस्थाले व्यवसायमा परेको प्रभाव मूल्याङ्कन गरी आगामी पुस मसान्तभित्र पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरिएको छ । पुनरतालिकीकरण भएका कर्जा भने गत असार मसान्तसम्म जुन वर्गमा थिए, त्यही वर्गमा नै रहनेछन् ।

