प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मधेश प्रदेशसभा बैठक स्थगित
जनकपुरधाम, १२ भदौ
प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण मधेश प्रदेशसभाको आजको बैठक सुरु भएको केही समयमै स्थगित भएको छ।
बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले विरोध जनाएका थिए। सभामुख रामचन्द्र मण्डलले जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राम अशिष यादवलाई बोल्न समय दिएका थिए।
सांसद यादवले प्रदेश सरकारले प्रतिपक्षको अनुपस्थितिमा संसद्लाई छलेर बजेट ल्याएको आरोप लगाउँदै अर्थमन्त्री सुनिलप्रसाद साहको राजीनामा माग गर्नुभयो।
“सरकारले प्रस्तुत गरेको रेडबुक ४६१ पृष्ठको मात्रै थियो, तर पछि संसद्मा ३०५ पृष्ठको बजेट पारित भएको पाइयो,” उहाँले भन्नुभयो। उहाँले अर्थमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरुद्ध गर्ने चेतावनी दिनुभयो।
विरोधपछि सभामुख मण्डलले प्रदेशसभाको अर्को बैठक यही भदौ १३ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभएको छ।
बैठक अवरुद्ध गर्ने दलहरूमा जसपा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।

