जेनजी आन्दोलनका कारण २० अर्बभन्दा बढीको बीमा दाबी

काठमाडौँ, ४ असोज – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको आधारमा हालसम्म २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा दाबी दर्ता भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीमा १,९८४ वटा दाबी दर्ता भएका छन्।

सबैभन्दा धेरै दाबी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ, जसको रकम ५ अर्ब १४ करोड रुपैयाँभन्दा बढी छ। त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ अर्ब ९३ करोड, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड, र आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड बराबरको दाबी भएको प्राधिकरणले जनाएको छ।

अन्य कम्पनीहरूको दाबी यसप्रकार छन्:

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स : १ अर्ब ४७ करोड

  • हिमालयन एभरेष्ट इन्स्योरेन्स : १ अर्ब १५ करोड

  • नेको इन्स्योरेन्स : १ अर्ब ९ करोड

  • सानिमा जिआइसी : ७८ करोड ९३ लाख

  • राष्ट्रिय बीमा कम्पनी : ४९ करोड ५१ लाख

  • युनाइटेड अजोड इन्स्योरेन्स : ४८ करोड ७४ लाख

  • नेपाल इन्स्योरेन्स : ४६ करोड ९४ लाख

  • एनएलजी इन्स्योरेन्स : ३८ करोड ५८ लाख

  • प्रभु इन्स्योरेन्स : १९ करोड १८ लाख

  • नेशनल इन्स्योरेन्स : ६ करोड ८२ लाख

  • माइक्रो इन्स्योरेन्स कम्पनीहरू (प्रोटेक्टिभ, स्टार, नेपाल, ट्रस्ट) : करिब ३ करोड बराबर

नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले दाबी भुक्तानी प्रक्रिया छिटो टुङ्ग्याउने प्रतिबद्धता जनाएको छ। सङ्घका अध्यक्ष राजेन्द्र मल्लका अनुसार, बीमित सम्पत्तिमा भएको क्षतिको तत्काल मूल्याङ्कन गरी आवश्यक कागजातसहित दाबी प्रक्रिया सहज बनाउन पहल भइरहेको छ।

सङ्घले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षानिकाय, प्रशासनिक संरचना, निजी सम्पत्ति, उद्योग–व्यवसाय र यातायातमा भएको क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ। २०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको महत्व अझ स्पष्ट भएको भन्दै, हालको परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियता सकारात्मक रहेको सङ्घले जनाएको छ।

Facebook Comments Box