देशका अधिकांश भूभागमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हिमाली र पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराई, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
यसैगरी, कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यस्तै, बिहीबार हिमाली तथा पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

