‘जेन–जी’ आन्दोलनले अधुरै रह्यो कमलको सपना

पाँचथर, ४ असोज — वैदेशिक रोजगारीका क्रममा तीन वर्ष साउदी अरबमा बिताएपछि गत वैशाखमा झापा फर्किएका हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी बाबुआमासँग भेट गर्न गाउँसम्म पुगेका थिएनन् । श्रीमती सीता र पाँच वर्षका छोरा झापामै भएकाले उहाँ विर्तामोड नगरपालिका–१०, बिराटपोखरमा घर निर्माणमा व्यस्त हुनुहुन्थ्यो ।

कमलले फोनमा बुबा गणेशप्रसादलाई दसैँभित्र घरको भुईं तलाको काम सक्ने आश्वासन दिएका थिए । तर भदौ २५ गते बिहान कान्छा छोराबाट “दाजुलाई गोली लाग्यो” भन्ने खबर आउँदा परिवार स्तब्ध भयो । गणेशलाई छोराले ‘जेन–जी’ आन्दोलनमा सहभागी भएको थाहा नै थिएन ।

भदौ २४ गते बेलुकी कमलले पत्नीलाई “छिट्टै फर्किन्छु” भनेर घर निर्माण छोडेर आन्दोलनमा सहभागी हुन विर्तामोड गएका थिए । तर रातभरि फोन लागे पनि उनले उठाएनन् । भोलिपल्ट बिहान १० बजे मात्र बिएण्डसी अस्पतालका सुरक्षाकर्मीले फोन उठाएर “तपाईंको बिरामी यहाँ हुनुहुन्छ” भनेपछि मात्र परिवारलाई थाहा भयो कि कमल गम्भीर घाइते भएका रहेछन् ।

आन्दोलनकै क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड नजिक भएको झडपमा कमलको कन्चटमा गोली लागेको थियो । उद्धार गरी अस्पताल पुर्याइए पनि उहाँलाई तुरुन्तै ‘भेण्टिलेटर’मा राखियो । परिवारजनलाई भेट्न वा अवस्था बुझ्न दिइएन । चिकित्सकले गोली निकाल्न नसकेको र उपचार सम्भव नभएको बताउँदै गर्दा धेरै ढिलो भइसकेको थियो ।

भदौ २८ गते उहाँको शव अमरपुर ल्याएर अन्तिम संस्कार गरियो । परिवारमा शोकको पहाड खस्यो—५७ वर्षीय बाबु गणेश रोगले थलिनुभयो, आमा खगमाया कान नसुन्ने अवस्थामा, श्रीमती सीता गर्भवती भएर ‘अर्धचेत’ अवस्थामा । पाँच वर्षका छोरा बाबु विहीन भए, गर्भमा रहेको सन्तानले बाबु देख्ने मौका समेत पाउने छैन । कमलले झापामा घर बनाएपछि बाबुआमालाई पनि लैजाने सपना देखेका थिए ।

तर अधुरो घरको भुईं तला मात्रै ढलान भएको छ, बाँकी काम रोकिएको छ । गाउँले र आफन्तहरू शोकमा डुबेका छन् । भण्डारी परिवारले अझैसम्म कुनै राहत वा सहानुभूति पाएनन् । सहिद परिवारलाई भेट्न स्थानीय वडाध्यक्षदेखि राजनीतिक दलका नेता, आन्दोलनका अगुवासम्म कसैले चासो देखाएका छैनन् । “देश बदल्ने सपना बोकेर आन्दोलनमा हिँड्दा दाइ प्राण गुमाउनुभयो, तर अहिले कसैले वास्ता पनि गरेन,” कमलकी बहिनी मायाले व्यथा पोखिन् ।

Facebook Comments Box