अविरल वर्षाले नवलपरासीका धानबाली डुबान

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ४ असोज – हालैको अविरल वर्षाले पाल्हीनन्दन र सरावल गाउँपालिकाका किसानको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। धनेवा र झरही खोलामा आएको बाढीका कारण ७०० बिघाभन्दा बढी धानबाली डुबानमा परेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। पाल्हीनन्दन–१ का वडासदस्य चुल्हाइप्रसाद यादवका अनुसार यस वर्ष धान राम्रो सप्रिएको थियो।

कतिपय खेतमा धान पाकिसकेको र कतिपयमा फलिरहेको अवस्थामा आएको बाढीले आशा भंग गरिदिएको उहाँको भनाइ छ। “हरेक वर्षजस्तै किसानले धान लगाएका थिए, तर काट्ने बेला नपाउँदै खेतमै सड्ने अवस्था आयो,” यादवले भने। त्यस्तै, सरावल–७ का वडाध्यक्ष हेयात खान धुनियाले गाउँपालिकाभर करिब ७०० बिघाभन्दा बढीमा लगाइएको धान डुबानमा परेको जानकारी दिनुभयो।

सरावल–६ मधवलीयाका किसान घनश्याम चौधरीले डेढ बिघा खेतमा लगाएको धानबाली पूर्णरूपमा नष्ट भएको र यसबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको बताए। नवलपरासी कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्र नाथ चौबेका अनुसार पाल्हीनन्दन–१ शंकरपुर तथा सरावल–४, ५, ६ र ७ का करिब २७५ हेक्टर क्षेत्रमा धानबाली डुबानमा परेको छ।

Facebook Comments Box