जेनजी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकलाई साढे ३८ करोडको क्षति, १८ किलो सुन र ५ करोड बढी नगद लुटियो

काठमाडौँ, १ असोज – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। आन्दोलनकारीले बैंकका शाखाहरूमा तोडफोड, आगजनी र लुटपाट गरी करिब १८ किलो सुन र ५ करोडभन्दा बढी नगद लुटेका छन्।

बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार नयाँ बानेश्वर शाखाबाट १७ हजार ९४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको हो। बुधबार कायम भएको सुनको मूल्यका आधारमा मात्र सुनकै क्षति ३३ करोड २४ लाख रुपैयाँभन्दा बढी भएको उनले जानकारी दिए।

रेग्मीका अनुसार लुटिएको सुन धितोमा राखिएका गरगहना थिए, जुन कर्जा प्रवाहका लागि संकलन गरिएको थियो। लुटपाटका बाबजुद सबै सुन र नगद चोरी नभएको र बाँकी धितोका सुन तथा नगद सुरक्षित रहेको उनले स्पष्ट पारे।

भौतिक रूपमा शाखाको कम्प्युटर, फर्निचर, क्यामेरा, प्रिन्टर र कागजातहरू क्षतिग्रस्त भएका छन्। यद्यपि, कर्जाका तमसुकहरू भने सुरक्षित रहेको बैंकले जनाएको छ।

बैंकका अन्य शाखामा पनि भौतिक क्षति पुगेको तर नगद क्षति नभएको रेग्मीले बताए। भैरहवा भन्सार कार्यालयको शाखामा समेत नगद लुटपाट भएको र ड्राइपोर्टमा १ लाख २८ हजार रुपैयाँ जलेको अवस्थामा भेटिएको जानकारी छ।

नेपाल बैंकर्स संघका अनुसार देशभर ६१ वटा बैंक कार्यालयमा आन्दोलनकारीले क्षति पुर्‍याएका छन्। केही एटीएम मेसिन तोडफोड भएका छन् भने सरकारी कार्यालय नजिक रहेका शाखामा बढी क्षति भएको संघको भनाइ छ। विकास बैंकका केही शाखामा सामान्य क्षति पुगेको डेभलपमेन्ट बैंकर्स संघले जनाएको छ।

२४ भदौको प्रदर्शनमा सिंहदरबारसहित अधिकांश सरकारी कार्यालय, उद्योग, व्यवसाय र केही उद्योगीका निवासमा समेत आगजनी र तोडफोड भएको थियो।

Facebook Comments Box