सिरहामा कुटपिटबाट महिलाको मृत्यु, चार जना नियन्त्रणमा

सिरहा, ११ कात्तिक — सिरहाको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी गरेको निहुँमा भएको कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ।

आज बिहान कुटपिटबाट घाइते भएकी स्थानीय मो सदिक मियाँकी करिब ५० वर्षीया श्रीमती नुरजहाँ खातुनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

स्थानीयले उनलाई उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशबहादुर पालका अनुसार मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

घटनामा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई नियन्त्रणमा लिइएको र उनीहरूबाट बयान लिने कार्य भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार मृतक खातुनले खुट्टीखोला किनारमा छठघाट नजिकै खुद्रा किराना पसल सञ्चालन गर्दै आउनुभएको थियो। आज बिहान एक युवकले पसलबाट सामान चोरी गरेको भन्दै खातुनले युवकका हजुरबालाई गुनासो गरेकी थिइन्।

त्यसपछि “मेरो नातिलाई चोरको आरोप लगाएको” भन्दै परिवारका सदस्यहरूले उनलाई निर्घात कुटपिट गरेको बताइएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box