२०औँ एसियाडका लागि ३२ खेलका ४३४ खेलाडीको नाम दर्ता
काठमाडौँ, १ असोज – जापानको आइची र नागोयामा आगामी वर्ष हुने २०औँ एसियाली खेलकुद (एसियाड)का लागि नेपालले ३२ खेलका ४३४ खेलाडीको नाम दर्ता गरेको छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जारी गरेको विज्ञप्तिअनुसार पहिलो सूचीमा १९५ महिला र २३९ पुरुष खेलाडी समावेश छन्। खेलाडीको नाम दर्ताको अन्तिम मिति सेप्टेम्बर १६ सम्म रहेको थियो। यसअघि एनओसीले ३० खेलको नाम दर्ता गरेकोमा पछि फुटबल र तेक्वान्दो थप गर्दै खेलको संख्या ३२ पुर्याएको हो।
दर्ता गरिएका खेलमा एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस्, बेसबल एण्ड सफ्टबल, राफ्टिङ एण्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, ई–स्पोर्टस्, गल्फ, हकी, जुडो, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्टस् क्लाइम्बिङ, स्क्वाश, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारतोलन, कुस्ती र उसु रहेका छन्।
एनओसीका महासचिव राजीव श्रेष्ठका अनुसार सबै खेलाडीको ‘इन्ट्री बाइ नम्बर’ प्रक्रिया पूरा भइसकेको छ। खेलाडीको संख्या र विवरण युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई पनि पठाइएको उनले बताए।

