भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन तुर्कमेनिस्तानमा सुरु, प्रधानमन्त्री ओलीको सम्बोधन आजै

आवाजा (तुर्कमेनिस्तान), २० साउन – भूपरिवेष्टित विकासशील राष्ट्रहरू (Landlocked Developing Countries–LLDCs) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन आजदेखि तुर्कमेनिस्तानको आवाजा शहरमा सुरु भएको छ।

सम्मेलनको उद्घाटन तुर्कमेनिस्तानका उपराष्ट्रपति होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गरेका हुन्।

उद्घाटन सत्रमा महासचिव गुटेरेसले भूपरिवेष्टित मुलुकहरूको अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक बजारसम्मको पहुँच विस्तार र उनीहरूले भोगिरहेका संरचनागत समस्याको समाधानका लागि साझा प्रयास आवश्यक भएको बताए।

त्यसैगरी, तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभले दक्षिण-दक्षिण सहयोग, संसदीय मञ्च, युवा तथा नागरिक सञ्जालको सक्रियताबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन युन्जीले पनि उद्घाटन सत्रमा सम्बोधन गरेका थिए।

सम्मेलनको ‘प्लेनरी’ सत्र आवाजास्थित पर्यटकीय भवनमा सुरु भएको छ। सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहनुभएको छ।

प्रधानमन्त्री ओलीले आज सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले अल्पविकसित राष्ट्रहरूको (LDCs) तर्फबाट पनि औपचारिक मन्तव्य दिनेछन्।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल प्रमुख, संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूले समुद्रसम्मको प्रत्यक्ष पहुँच नहुँदा अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी, ढुवानी लागत, पूर्वाधार, र आर्थिक विकासमा असमानता भोगिरहेका सन्दर्भमा यो सम्मेलनलाई विशेष महत्त्वका साथ हेरिएको छ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा. दिव्यासिंह शाह तथा परराष्ट्र सचिव अमृतबहादुर राई सहभागी छन्।

Facebook Comments Box