अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी, ३१ भदौ  – बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि यातायातका लागि खुल्यो। म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सडक आइतबार बिहानदेखि अवरुद्ध भएको थियो।

घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीका अनुसार नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरेर ठूला ढुङ्गा फुटाइयो र डोजरको सहायताले पहिरो पन्छाएर गए राति १० बजे सडक खोलिएको हो।

खत्रीले भने, “बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक कर्मचारी, नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले राति काम गरेर सडक खुलेका हौँ। सडक खुलेसँगै मुस्ताङको घाँसा र म्याग्दीको काभ्रेमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।”

सडक अवरुद्ध हुँदा कोरलानाकाबाट सामान लिएर आएका कन्टेनर र मुस्ताङको स्याउ तथा आलु बोकेका मालबाहक ट्रक घाँसामै रोकिएका थिए। सोह्रश्राद्धका लागि मुस्ताङको कागबेनीमा पितृ तर्पण दिन देश तथा भारतका तीर्थयात्री, स्थानीयवासी र पर्यटकहरू गन्तव्यतर्फ लागेका छन्।

सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका बन्द भएपछि दसैंका लागि नेपाली बजारमा आवश्यक सामान मुस्ताङको कोरलानाकाबाट ल्याउन थालिएको र त्यसका कारण बेनी–जोमसोम सडकमा सवारीसाधनको चाप बढेको छ।

Facebook Comments Box