बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि कार्यदल गठन
काठमाडौँ, १४ साउन – बजेट अनुशासन सुदृढ गर्दै सार्वजनिक वित्त व्यवस्थापन सुधार गर्ने उद्देश्यले अर्थ मन्त्रालयले कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयका अनुसार कार्यदलको संयोजकमा मन्त्रालयको वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख महेश बराल नियुक्त भएका छन्।
कार्यदलमा सदस्यका रूपमा बजेट महाशाखाका उपसचिव, कानून तथा फैसला महाशाखाका उपसचिव, र पूर्व सहसचिव तथा विषयविज्ञ निर्मलहरी अधिकारी रहेका छन्। साथै, वित्तीय सङ्घीयता महाशाखाका उपसचिव कार्यदलको सदस्य सचिव रहेका छन्।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख गरिएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कार्यदल गठन गरेको हो। बजेट बुँदा नं. ३५९ अनुसार, विनियोजनको कुशलता, सार्वजनिक वित्तको प्रभावकारिता, संघीय सञ्चित कोषको सन्तुलन, र सार्वजनिक ऋणको उत्पादनशील उपयोग सुनिश्चित गर्दै बजेट अनुशासनमा जोड दिइएको छ।
त्यस्तै, बुँदा नं. ३७१ मा संविधानको भावना अनुरूप संघ, प्रदेश र स्थानीय तहमा लागू हुने गरी सार्वजनिक खर्चका लागि एकीकृत मापदण्ड तयार गर्ने र बजेट अनुशासन सुदृढ गर्न कानून निर्माण गर्ने उल्लेख गरिएको छ।
संविधानको धारा ५९ ले पनि संघीय, प्रादेशिक तथा स्थानीय तहमा बजेट घाटा व्यवस्थापन र अन्य वित्तीय अनुशासन सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम गर्नुपर्ने व्यवस्था गरेको छ।
अर्थ मन्त्रालयद्वारा गठित यो कार्यदलले सार्वजनिक खर्चमा अनुशासन कायम गर्न र सार्वजनिक वित्त प्रणालीलाई पारदर्शी, दिगो र परिणाममुखी बनाउने दिशामा नीति तथा कानुनी आधार तयार गर्ने अपेक्षा गरिएको छ।

