‘भोजपुरे खुकुरी’ बनाउने कालीगढ अभाव, माग उच्च
भोजपुर, ३१ भदौ – परम्परागत खुकुरी निर्माणमा प्रयोग हुने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै गएसँगै भोजपुरमा ‘भोजपुरे खुकुरी’ निर्माण संकटमा परेको छ। दक्ष कालीगढको अभावका कारण मागअनुसार उत्पादन गर्न नसकिएको व्यावसायीहरूले बताएका छन्।
पुस्तान्तरण नहुँदा र संरक्षणको अभावले कालीगढ पेसा संकटमा परेको हो। स्थानीय बजार, अन्य जिल्लासँगै अन्तर्राष्ट्रिय बजारमा पनि खुकुरीको माग भए तापनि पर्याप्त उत्पादन हुन सकेको छैन। स्थानीय कालीगढ व्यवसायी हर्कबहादुर विश्वकर्माले भने, “दक्ष जनशक्ति नहुँदा खुकुरी उत्पादनमा कमी आएको छ। माग धान्न समस्या छ र यस पेसामा पुस्तान्तरणको अभाव देखिन्छ।”
मुख्यत: भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमो लगायतका खुकुरीको बढी माग रहेको बताइएको छ। व्यवसायी दिनेश गजमेरका अनुसार यहाँ उत्पादन हुने खुकुरी आकारअनुसार रु एक हजारदेखि २० हजारसम्म पर्छ। बाहिरी जिल्लाबाट दुई–चार सय खुकुरीको माग आउने भए पनि उच्च माग धान्न कठिन भइरहेको छ।
अघिल्ला वर्षहरूमा पर्याप्त कालीगढ भए तापनि हाल व्यावसायिक रूपमा काम गर्ने मानिसहरूको सङ्ख्या घट्दै गएको छ। बढी मेहनत र आवश्यक कच्चा पदार्थ अभावका साथै नयाँ पुस्तामा मोह कम हुनुका कारण यो पेसा संकटमा परेको व्यावसायीहरूले बताएका छन्।
विदेश जाने प्रवृत्तिका कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग पनि बन्द हुँदै गएकाले खेतीपातीका लागि आवश्यक कृषि औजार बनाउने जनशक्तिको अभाव देखिन थालेको छ।

