कोशी अस्पतालमा स्वास्थ्य बीमा रकम दुरुपयोग गर्ने, तीन कर्मचारी बर्खास्त
विराटनगर, ३१ भदौ – कोशी अस्पतालको औषधि पसल (फार्मेसी)का तीन कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको छ। बर्खास्त गरिएका मध्ये दुई फार्मेसी सहायक र एक कार्यालय सहयोगी छन्। अस्पताल प्रशासनले थप अनुसन्धान गर्दै आएको भए पनि उनीहरूको नाम सार्वजनिक गरेको छैन।
अनुसन्धानमा पत्ता लागेको छ कि ती कर्मचारीले औषधि कम आपूर्ति गरी बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि भुक्तानीमा देखाउने, तथा बिरामीका नाममा ठूलो मात्रामा औषधि देखाउने जस्ता अनियमिततामा संलग्न थिए। घटना मोरङका एक क्यान्सरपीडित बिरामीले उजुरी दिएपछि बाहिर आएको हो। बिरामीले बीमा खाताबाट सात दिनका औषधि मात्र लेखिएको अवस्थामै एक महिनाको औषधि बराबर रकम कटिएको पत्ता लगाएपछि अस्पतालमा लिखित उजुरी दिएका थिए।
अस्पतालले लिखित उजुरी प्राप्त भएपछि छानबिन समिति गठन गरी अनुसन्धान गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले बताउनुभयो। उहाँका अनुसार, उजुरीमा उल्लेखित मात्रै नभएर अघिपछि काटिएका बिलहरूको परीक्षण गर्दा पनि अनियमितता पुष्टि भएको र त्यसपछि तीनै कर्मचारीलाई बर्खास्त गरिएको हो। छानबिन समितिको प्रतिवेदनले उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि गरेको छ।
कोशी अस्पतालमा दैनिक करिब एक हजार बिरामी सेवा लिन आउँछन्, जसमध्ये आधाभन्दा बढी स्वास्थ्य बीमा सदस्य हुन्। बीमित बिरामीमध्ये धेरै दीर्घरोगी छन्। आर्थिक वर्ष २०८१/८२ अनुसार अस्पतालमा उपचार सेवा लिन आएका तीन लाख १७ हजार ७१८ बिरामीमध्ये १ लाख २३ हजार ९८३ बिरामीले स्वास्थ्य बीमा मार्फत उपचार सेवा लिएका थिए।
मेडिसिन विभाग प्रमुख डा. दीपक सिग्देलका अनुसार हाल सबैभन्दा बढी उच्च रक्तचाप, दम, मधुमेह, मुटुरोग र मस्तिष्कसम्बन्धी समस्या देखिएको छ। पहिले पाको उमेरमा मात्र हुने रोग अहिले युवापुस्तामा पनि देखिन थालेको र दीर्घकालीन औषधि सेवन आवश्यक रोग बढ्दै गएकोले बीमा सेवामा चाप दिनानुदिन बढिरहेको बताए।
हाडजोर्नी, स्त्री–प्रसूति, नाक–कान–घाँटी, स्नायु, छाला लगायत अन्य विभागमा पनि बीमित बिरामीको चाप बढ्दो छ। स्वास्थ्य सरोकारवालाले बीमित र दीर्घरोगी बिरामीको सङ्ख्या बढेसँगै औषधि आपूर्ति र बिलिङ प्रणाली अझ पारदर्शी बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

