प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

वाशिङ्गटन डिसी (अमेरिका), २७ भदौ – नेपालमा हालै भएका घटनाप्रति अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले चिन्ता व्यक्त गर्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन्। सिनेटर जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार जारी गरेको संयुक्त विज्ञप्तिमा नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य रहेको जनाउँदै पीडित परिवारप्रति सहानुभूति व्यक्त गरिएको छ।

“नागरिकहरूको विरुद्ध चर्को दमन गर्नेहरूलाई उत्तरदायी बनाउन आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ। साथै, विगत दुई दशकमा नेपालीहरूले प्रजातान्त्रिक अभ्यासमार्फत हासिल गरेका उपलब्धि महत्वपूर्ण भएको र ती उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिइएको छ।

सिनेटरहरूले शान्त, पूर्ण प्रजातान्त्रिक र गतिशील नेपाल नै नेपाली जनताको मात्रै नभई अमेरिका र समग्र क्षेत्रकै चासोको विषय रहेको बताएका छन्। साथै, नागरिकको विश्वास जित्नका लागि भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीलाई सम्बोधन गर्ने अपेक्षा नेपाल सरकारसँग गरिएको छ।

Facebook Comments Box