कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी
कञ्चनपुर, २७ भदौ – ‘जेनजी’ आन्दोलनका क्रममा कञ्चनपुरमा व्यापक तोडफोड र आगजनी भएका छन्। विभिन्न २७ सरकारी कार्यालय, पाँच राजनीतिक दलका कार्यालय, १२ जना नेता तथा जनप्रतिनिधिका निजी निवास, चार व्यापारिक केन्द्र र १६ सवारीसाधनमा क्षति पुर्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार क्षतिग्रस्त सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट, कञ्चनपुर कारागार, त्रिभुवनबस्ती र गुलरियास्थित इलाका प्रहरी कार्यालयका गेट, सरकारी वकिल कार्यालय, शुक्लाफाँटा नगरपालिका तथा वडा नं १ देखि १२ का कार्यालय, पुनर्वास र कृष्णपुर नगरपालिकाका कार्यालय, भीमदत्त नगरपालिका कार्यालयको गेट तथा बेलडाँडी गाउँपालिका कार्यालय रहेका छन्। ती स्थानमा भएका तोडफोड र आगजनीका कारण करोडौँ मूल्य बराबरका कागजात, फर्निचर र भौतिक संरचना नोक्सान भएको प्रहरीले जनाएको छ।
भीमदत्त र दोधाराचाँदनी नगरपालिकामा रहेका एमाले, माओवादी केन्द्र र कांग्रेसका गरी पाँच वटा पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड भएको छ। यस्तै, निवर्तमान गृहमन्त्री रमेश लेखक, पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, पूर्वमन्त्री प्रकाश रावल, भीमदत्त नगरप्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक, पूर्वसांसद निरुदेवी पाल, प्रदेशसभा सदस्य मधु भारती, वेदकोट नगरप्रमुख भोजराज बोहरा, पूर्वनगरप्रमुख सुरेन्द्र विष्ट, जिसस प्रमुख दुर्गादत्त बोहरा, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र कृष्णपुर नगरप्रमुख हेमराज ओझालगायतका घरमा पनि तोडफोड तथा आगजनी भएको छ।
व्यापारिक क्षेत्रमा होटल ओपेरा, सीएमजी क्यासिनो, विपीन पुस्तक पसल, रोयल सिलाइ सेन्टर र डायमन्ड क्यासिनोमा समेत तोडफोड, आगजनी र लुटपाट भएको जनाएको छ। साथै पुनर्वास नगरप्रमुख र प्रशासकीय प्रमुख चढ्ने गाडी लगायत १६ वटा सवारीसाधन (शववाहन, दमकल, मोटरसाइकल, स्कुटर, ट्याक्टर र रोलरसहित) तोडफोड र आगजनीमा परेका छन्।
कारागारबाट भागेकामध्ये १२४ कैदी फिर्ता
आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएका कैदीबन्दीमध्ये हालसम्म १२४ जना फिर्ता भएका छन्। प्रहरी नायब उपरीक्षक बोहराका अनुसार कारागारमा रहेका ४७९ कैदीमध्ये बिहीबार मात्रै १०३ जनालाई फिर्ता गराइएको हो। केहीलाई नियन्त्रणमा लिएर बुझाइएको र केही आफैं सम्पर्कमा आएको बताइएको छ।
कारागारमा ४५३ पुरुष र २६ महिला गरी कुल ४७९ कैदीबन्दी थिए। तीमध्ये सबैभन्दा बढी १६९ जना लागुऔषधसम्बन्धी मुद्दाका थिए। अहिले पनि ३५५ जना फरार रहेका प्रहरीले जनाएको छ।

