तनहुँमा दुई महिला मृत फेला, सनाखत खुलेन
तनहुँ, २७ भदौ – तनहुँमा बिहीबार छुट्टाछुट्टै स्थानमा दुई महिला मृत फेला परेका छन्। सेती नदी र बुल्दीखोलाबाट शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदी किनारमा करिब ५५–६० वर्षीया अज्ञात वृद्धा मृत फेला परेकी छन्।
स्थानीयवासीले देखेपछि खबर गरेअनुसार पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल दमौलीमा राखेको छ। हालसम्म सनाखत हुन सकेको छैन। त्यस्तै, व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा करिब ३०–३५ वर्षीया महिला मृत अवस्थामा भेटिएकी छन्।
डिहीगाउँतर्फ जाने पुलमुनी डुबिरहेको अवस्थामा उद्धार गरिएको उनलाई उपचारका लागि प्रदेश अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। दुवै शवको सनाखत नखुलेको र प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।

