सहमतिबाट मात्र निकास सम्भव : खनाल
काठमाडौँ, २७ भदौ ( नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘जेनजी’ पुस्ताको आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकलाई शान्ति, धैर्य र सहमतिबाट मात्र निकास दिन सकिने बताएका छन्।
बिहीबार जारी विज्ञप्तिमा उनले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र र निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। खनालले आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाबाट मुलुक शान्तितर्फ फर्किएको उल्लेख गर्दै इतिहासमा ‘जेनजी’ पुस्ताको आन्दोलनको समीक्षा हुने बताए। उनले मुलुकलाई पुनःस्थापना र अग्रगतितर्फ लैजान शान्ति कायम गर्नु मुख्य कार्यभार भएको धारणा राखे।
शान्त, संयमित र धैर्यवान बन्न सबैलाई आग्रह गर्दै उनले साझा नीति तथा कार्यक्रम संविधानलाई आधार बनाएर वार्ता, भेटघाट र सहमतिबाट तय गर्नुपर्नेमा जोड दिए। साथै, सहमतिमा आधारित सर्वदलीय र सर्वपक्षीय सरकार गठनमार्फत देशलाई पुनःगठन, पुनःस्थापना, समृद्धि र समाजवादतर्फ अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।

