भारतबाट फर्किएका यात्रु कञ्चनपुरमा लुटिए

कञ्चनपुर, २७ भदौ – भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्किँदै गरेका यात्रु बिहीबार कञ्चनपुरमा लुटपाटमा परेका छन्। पूर्वपश्चिम राजमार्गस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा तीन जना सेतो रंगको स्कुटरमा आएका अपरिचित व्यक्तिले हतियार देखाई कालिकोट जिल्ला पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई लुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पीडित कलमबहादुरका अनुसार सवारी साधन नपाएपछि पैदलयात्रा गर्दै गर्दा लुटेराले खुकुरी देखाएर मोबाइल फोन तथा १४ हजार भारतीय रुपैयाँ लिएर फरार भएका थिए। तर राजमार्गमा अर्को मोटरसाइकल नजिकिँदै गरेको देखेपछि लुटेरा भागेका थिए। उनीहरूसँगै रहेका अन्य तीन जना यात्रु भने जोगिएका छन्।

कलमबहादुरले भारतमा मजदुरीका लागि गएको दुई महिनामै काम नपाएपछि फर्किँदै गर्दा लुटपाटमा परिएको बताए। यसबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी दिइएको र पीडितले दिएको हुलियाका आधारमा लुटेराहरूको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिनुभयो।

Facebook Comments Box