आज खग्रास चन्द्रग्रहण, नेपालबाट साढे तीन घण्टा अवलोकन गर्न सकिने

काठमाडौँ, २२ भदौ – आज भाद्र शुक्ल पूर्णिमाका दिन यस वर्षको पहिलो चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १० बजेर ११ मिनेटमा सुरु भई १ बजेर ४१ मिनेटमा अन्त्य हुने यो खग्रास चन्द्रग्रहण काठमाडौँसहित नेपालभर साढे तीन घण्टा अवलोकन गर्न सकिनेछ ।

ग्रहणको समयमा चन्द्रमा रातो रङको देखिने भएकाले यसलाई सामान्यतया ‘ब्लड मुन’ भनिन्छ । पृथ्वीको वायुमण्डलले नीलो प्रकाशलाई तितरबितर पारेर रातो प्रकाश मात्रै चन्द्रमामा पुग्ने भएकाले यस्तो दृश्य देखिने हो । यो चन्द्रग्रहण नेपाल, भारत, एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका करिब ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन् ।

यसै वर्ष फागुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । सामान्यतया चन्द्रग्रहण पूर्णिमामा र सूर्यग्रहण औंसी तिथिमा लाग्ने गर्छ । खगोलशास्त्रअनुसार सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा आउँदा पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ ।

पूर्ण रूपमा छायाले ढाक्दा खग्रास र आंशिक रूपमा ढाक्दा खण्डग्रास चन्द्रग्रहण हुन्छ । वैज्ञानिक दृष्टिकोणले चन्द्रग्रहण वा सूर्यग्रहण सामान्य खगोलीय घटना भए पनि धार्मिक विश्वासमा यस अवधिलाई अशुभ मान्ने चलन छ । ग्रहणको बेला पूजापाठ, खाना खाने, सहवास वा हाँस्यव्यंग्य गर्न निषेध गरिएको परम्परा छ ।

तर वैज्ञानिकहरुले यस्ता मान्यतालाई अस्वीकार गर्दै, ग्रहणलाई अध्ययन र अवलोकन गर्ने अवसरका रूपमा लिनुपर्ने सुझाव दिएका छन् । नाङ्गो आँखाले ग्रहण नहेरी, उचित सुरक्षात्मक उपाय अपनाएर मात्र अवलोकन गर्न वैज्ञानिकहरुले आग्रह गरेका छन् ।

Facebook Comments Box